म्याग्दी : हिमालपारिको जिल्ला जोमसोम लाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक लगातारको वर्षासँगै आएको पहिरोका कारण बुधबार बिहानैदेखि अवरुद्ध भएको छ ।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ उपल्लो बैसरी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडकमाथिबाट पहिरो झरेपछि बिहान साढे ५ बजेदेखि सडक अवरुद्ध भएको हो । पहिरोका कारण सडक बन्द भए पनि अन्य क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।
पहिरोस्थलमा अस्थायी प्रहरी पोस्ट तिप्ल्याङबाट प्रहरी हवल्दार विनोदकुमार चौहानको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दी र जिल्ला प्रहरी कार्यालयले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग अपनाउन तथा सतर्क रहन आग्रह गरेका छन् । साभारः गोरखापत्र अनलाइन
