सङ्घीय संसद्काे दुवै सदनको बैठक आज बस्दै , यस्ता छन् कार्यसूची

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (बुधबार) छुट्टाछुट्टै समयमा बस्ने भएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ । यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

आजै राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । साथै, मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

त्यसैगरी प्रतिनिधिसभा अन्तर्गतकै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आजै बिहान बस्ने भएको छ । किसानलाई रासायनिक मलको सहज एवं सुलभ आपूर्तिका विषयमा केन्द्रित रहेर समितिले छलफल गर्न लागिएको सचिवालयले जनाएको छ ।

बैठकमा रासायनिक मलको वर्तमान मौज्दात, वितरण प्रणाली र भावी योजनाका सम्बन्धमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पदाधिकारीहरूसँग विस्तृत छलफल गरिने कार्यसूची रहेको छ । साभारः रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्