दमौली : महिला उद्यमी संघ नेपाल तनहुँले व्यास २ का महिलाहरुलाई स्वरोजगारतर्फ अग्रसर गराउन प्रदान गरेको अचार बनाउने तालिममा महिलाहरुले उत्साहपुर्वक सहभागि भएका छन् । व्यास नगरपालिका वडा नं. २ को आर्थिक सहयोगमा महिला उद्यमीहरूका लागि सञ्चालन गरिएको सात दिने अचार बनाउने तालिममा उल्लेख्य सहभागिता र सक्रियताले तालिम प्रभावकारी बन्दै गएको सहभागीले बताएका छन् । महिलाहरूलाई सीपमूलक व्यवसायमार्फत आत्मनिर्भर बनाउने उद्देश्यसहित सुरु गरिएको तालिममा ३० जना महिला उद्यमी सहभागी रहेका छन् ।
तालिममा सहभागी मुना कालिराज विकेले तालिम निकै फलदायी भएको बताउँदै अचार बनाउने सीपले भविष्यमा व्यवसाय सञ्चालन गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिइन् । तालिमकी प्रशिक्षक तुलसी शाहले महिला सहभागीहरू उत्साहजनक रूपमा तालिममा सहभागी भएको बताउँदै सिकेको सीपलाई व्यवहारमा उतार्न सके स्वरोजगार र आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । तालिममा विभिन्न प्रकारका फलफूल र तरकारी, गुन्द्रुक, भट्टमास, खुर्सानी लगायतको अचार बनाउने सिपबारे प्रशिक्षण दिईएको प्रशिक्षक शाहले बताईन् । तालिममा बनाईएका अचारलाई कृतिम रंगहरुको प्रयोग विना कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्नेमा समेत प्रशिक्षण प्रदान गरेको शाहले जानकारी दिईन् । स्वच्छता कसरी कायम राख्ने भन्नेमा समेत आफूहरुले तालिम प्रदान गरेको शाहको भनाई छ ।
यसै गरी वडा सदस्यहरू साना राना मियाँ, सुरेश वाग्ले, जगबहादुर वाग्मी, सविता स्याङ्तान, ग्यास महासंघ तनहुँ शाखाकी अध्यक्ष सरला श्रेष्ठ, दमौली बजार इकाई अध्यक्ष शेरराज श्रेष्ठ, महिला उद्यमी संघ दमौली बजार इकाईकी अध्यक्ष पवित्रा खनाल, मादीसेती बचत तथा ऋण सहकारीकी व्यवस्थापक निरुमाया दुरा, महिला उद्यमी विकास समितिकी उपाध्यक्ष विमला श्रेष्ठ लगायतले तालिम फलदायी हुने विश्वास व्यक्त गरे। तालिमको उद्घाटन गर्दै व्यास नगरपालिका वडा नं. २ का वडा अध्यक्ष काशीराम श्रेष्ठले महिलाहरुको आयआर्जन वृद्धि गर्ने यस्तो तालिमले उद्यमशीलता विकासमा टेवा पुर्याउने बताए।
उद्घाटन कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष झमकुमार मल्ल, अधिकृत विक्रेता संघ तनहुँका अध्यक्ष दिनेश कुमार श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले तालिम निकै फलदायी हुने विश्वास गरेका थिए। महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्लले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिम प्रभावकारी हुने बताउँदै तालिमलाई व्यवसायिक रूपमा अगाडि बढाउन सबै महिला प्रतिबद्ध हुन आवश्यक रहेको धारणा राखिन् । ७ गते बाट सुरु भएको तालिम १३ गते समापन हुने संघले जनाएको छ ।
