दमौली: बर्षायाम सुरु भएसँगै तनहुँ सहित देशका विभिन्न क्षेत्रमा चट्याङका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । प्रहरीले सार्वजनिक गरेको सुरक्षा सन्देशमा चट्याङ प्राकृतिक विपत्ति भएकाले पूर्ण रूपमा रोक्न नसकिए पनि सचेतना र सावधानीले मानवीय क्षति कम गर्न सकिने उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार चट्याङ परेको बेला खुला मैदान, डाँडा, अग्ला स्थान तथा रुखमुनि बस्नु अत्यन्त जोखिमपूर्ण हुन्छ । यस्तो अवस्थामा सुरक्षित घर वा भवनभित्र बस्न, ढोका–झ्याल बन्द गर्न तथा विद्युतीय उपकरणबाट टाढा रहन सुझाव दिइएको छ । चट्याङको समयमा मोबाइल फोन, विद्युतीय सामग्री तथा धातुजन्य वस्तुको प्रयोग नगर्न पनि आग्रह गरिएको छ । साथै छाता, साइकल, मोटरसाइकल, हँसिया, कोदालोजस्ता सामग्रीले जोखिम बढाउने भएकाले यस्ता वस्तुबाट दूरी कायम गर्न भनिएको छ ।
समूहमा रहेका बेला एकआपसमा कम्तीमा १० मिटर दूरी कायम गर्नुपर्ने, तालतलैया, खोलानाला, पौडी पोखरीजस्ता पानी भएका स्थानबाट टाढा रहनुपर्ने प्रहरीले जनाएको छ । गाडी चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकेर गाडीभित्रै बस्न र बाहिर ननिस्किन पनि सुझाव दिइएको छ । कालो बादल देखिने वा चट्याङको आवाज सुनिनेबित्तिकै सुरक्षित स्थान खोज्नुपर्ने उल्लेख गर्दै घरको अर्थिङ तथा भित्री तार प्रणाली सुरक्षित र व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ ।
प्रहरीले चट्याङबाट घाइते भएका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी नजिकको स्वास्थ्य संस्थामा लैजान अनुरोध गरेको छ । मौसम पूर्वानुमान नियमित सुन्न, बालबालिका, वृद्धवृद्धा तथा असहाय व्यक्तिको विशेष ख्याल गर्न पनि अनुरोध गरिएको छ । “सुरक्षा हाम्रो प्रतिबद्धता, सचेतना हाम्रो जिम्मेवारी” भन्ने सन्देशसहित तनहुँ प्रहरीले नागरिकको सतर्कताले नै परिवार र समुदायको जीवन सुरक्षित रहने जनाएको छ ।
