आयल निगमको कार्यालय अगाडि मूल्यवृद्धिको विरोधमा प्रदर्शन

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै प्रदर्शन गरेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सोमबार काठमाडौंको बबरमहलस्थित आयल नियममा धर्ना दिन गएका उनीहरूलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन्। 

राष्ट्रिय जेनजी नागरिक अभियानले निगममा धर्नाका साथै ज्ञापन पत्र बुझाउन खोजेका थिए। प्रहरीले भने समन्वय नभएको भन्दै उनीहरूलाई त्यहाँबाट हटाएको जनाएको छ। प्रहरीले निगम परिसरबाट बाहिर निकालेपछि युवाहरूले प्रहरी दमन मुर्दावाद, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरलगायतका नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। 

राष्ट्रिय जेनजी नागरिक अभियानका सहसंयोजक अजय सोडारीले आफूहरू समन्वय गरेर नै ज्ञापन पत्र बुझाउन आउँदा प्रहरीले हस्तक्षेप गरेको बताए। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर सबैतिर देखिएको भन्दै यसप्रति वर्तमान सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।

सोडारीले छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य यथावत् भए पनि नेपालमा अत्याधिक मूल्य वृद्धि गरिएकोप्रति आपत्ति जनाए। युवाहरूले पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। साभारः अन्नपूर्ण

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्