सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। लु.प्र. ०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ पुथालामा दुर्घटना भएको हो। जिप कालीमाटीको लक्ष्मीपुरतर्फ जाँदै थियो। मृत्यु हुनेमा मनबहादुर थापा, टोपबहादुर थापा, ठगे घर्ती र कर्णबहादुर पुन रहेका छन्। सबै मृतक सोही वडाका बासिन्दा हुन्।
जिपमा १८ जना सवार थिए। घाइतेहरूलाई उद्धार गरी सुर्खेतको मेहेलकुना अस्पतालसहित अन्य अस्पतालमा उपचारका लागि पठाइएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनेहरू सबै बनगाड कुपिण्डे नगरपालिका–८ का बासिन्दा रहेका छन्।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।











