गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनःकांग्रेस र एमालेबीच बराबरी भागबण्डा

दमौली न्युज
  • ख-
  • ख+

पाेखरा : गण्डकी प्रदेश सरकारमा बुधबार सबै मन्त्री फेरिए । केही दिनदेखि मन्त्री फेरबदल गर्ने हल्लाका बीच मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार ८ जना मन्त्री फेरेका हुन् । काँग्रेस एमाले भागबण्डा अनुसार नै ४ जना मन्त्री कांग्रेसले पाएको छ भने एमाले पनि ४ वटै मन्त्रालय पाएको छ ।

नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । यस्तै, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तथा भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त भएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थमन्त्री बनेका छन् भने नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन् । नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री तथा रेखा गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन् ।

यसअघि कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हाल्दै आएका थिए ।

त्यस्तै, अर्थ मन्त्रालय डा. टकराज गुरुङ, सामाजिक विकास मन्त्रालय विन्दुकुमार थापा र वन तथा वातावरण मन्त्रालय भेषबहादुर पौडेल मन्त्री रहेका थिए । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए ।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम आजै पौने १२ बजे पर्यटन बोर्ड कार्यालयमा गरिएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुको बुधबार पद तथा गोपनियताको शपथ गराएका छन्। गण्डकीको मन्त्रिपरिषद् ९ सदस्यीय रहेको छ ।

तत्कालीन संघीय सत्ता गठबन्धन अनुसार गण्डकीमा पनि काँग्रेस र एमालेबीच तालमेल छ । गण्डकी सरकार पुनर्गठनसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट पूराना मन्त्री पदमुक्त गरी नयाँ मन्त्रीहरू नियुक्त भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्