काठमाडौं : प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्का सञ्चालक रहेको अनलाइन एनपीएलप्रेस डटकम सूचीकरणबाट हटाएको छ ।
काउन्सिलले उक्त अनलाइन मिडियालाई कालोसूचीमा राखेर काउन्सिलको सूचीकरणबाट हटाएको हो ।
साथै काउन्सिलले पत्रकार खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार समेत गरेको छ ।
गत फागुन ८ गतेको निर्णयानुसार कालोसूची नं। अवज्ञाकारी र कालोसूचीमा राखी सूचीकरणबाट समेत हटाइएको साथै सम्बद्ध सञ्चालक र पत्रकार (सुरज खड्का) को प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार भएको काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहले जानकारी दिए ।
खड्काले गत आइतवार एमालेको एक कार्यक्रममा लुगा खोलेर आओ आओ भन्दै एमाले कार्यकर्ताहरुसँग भिड्न तम्सिएको भिडिओ भाइरल भएको थियो । उनले एक एक गर्दै भिड्ने भन्दै आफू जिमर भएको बताएका थिए ।
खड्काले नेपाल प्रेससँग नाम जुध्नेगरी पाठकलाई झुक्याउन एनपीएल प्रेस नामक अनलाइन दर्ता गराएर विभिन्न विद्यालय,वडा कार्यालय र निजी प्रतिष्ठानमा गएर धम्क्याउने गरेको आरोप लागेको थियो ।
नेपाल प्रेसले यसबारे काउन्सिललाई मौखिक जानकारी समेत केही महिनाअघि नै गराएको थियो । उनीले क्यामेरा बोकेर अनुमति बिना निजी र सार्वजनिक कार्यालयमा गई दुर्व्यवहार गर्ने गरेको उजुरीपछि काउन्सिलले कारवाही अघि बढाएका जनाएको छ ।
साभारः नेपाल प्रेस











