
सैनिक, प्रहरी र पूजारी मात्र उपस्थित हुने
दमौलीः दशैंको फूलपाती बढाईं यसपाली सानो उपस्थितीमा हुने भएको छ । विगतमा राजनीतिकर्मी, नागरिक समाजका व्यक्ति सँगै सर्वसाधारणको बाक्लो उपस्थितीमा हुने फूलपाती बढाईं कोभिड संकटका कारण निकै सानो संख्यामा खुम्चने भएको छ ।
दमौलीमा हुने फूलपाती बढाईंमा यसपाली २५ जना मात्र सहभागी हुने भएका छन् । कोभिड संकटका कारण सर्वसाधारणको चहलपहल नहुने गरी पूजा व्यवस्था गर्न स्थानीय प्रशासनको निर्देशनपछि सैनिक र प्रहरीको उपस्थितीमा मात्र पूजा गर्ने निर्णय भएको छ ।
तनहुँ कालिका मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष एवं पूर्जा समितिका संयोजक माधवबहादुर पन्तको अध्यक्षतामा हालै बसेको बैठकमा परम्परा जोगाउने हिसाबले सानो उपस्थितीमा मात्र पूजा गर्ने निर्णय भएको मन्दिरका सल्लाहकार एवं व्यास ४ का वडाध्यक्ष विश्व न्यौपानेले बताए । ‘सैनिक र प्रहरीको अनिवार्य पूजा हुने भएकाले उनीहरुको सानो टुकडीको उपस्थितीमा पूजा र फूलपाती बढाईं गर्ने निर्णय भएको छ,’ उनले भने ।
प्रशासनका प्रतिनिधिसहित व्यास नगर प्रमुख, प्रहरीका डिएसपी तथा कालिभन्जन गणका क्याप्टेन समेतको उपस्थितीमा बसेको समितिको बैठकमा चापाघाटबाट आएका सैनिक प्रहरी कार्यालय अगाडिबाट प्रहरी मिसिएर बेलको चौतारा पुग्ने र त्यहाँ पूजापश्चात मालपोत लाईनबाट भोर्लेटार चोक हुँदै कालिका मन्दिरमा जाने गरी रुट तय गरिएको थियो ।
मन्दिरमा परम्पराअनुरुप सैनिक र प्रहरीको उपस्थितीमा पूजाअर्चना र फूलपाती बढाईं हुनेछ ।
विहान सवा ८ बजेबाट शुरु हुने प्रक्रिया सवा ११ बजे सक्ने र उपस्थिती सैनिक र प्रहरीसँगै तोकिएका व्यक्तिबाहेक अरुको नहुने वडाध्यक्ष न्यौपानेले बताए ।