काठमाडौं: बालेन्द्र शाह नेतृत्वको नवगठित मन्त्रिपरिषदको आजको पहिलो बैठकले विभिन्न चार निर्णय गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता चयन भएका सस्मित पोखरेलले पहिलो निर्णय स्वरुप शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय भएको जानकारी दिए । दोस्रो निर्णय सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने निर्णय भएको उनले बताए । त्यस्तै सरकारले शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय भएको छ ।
चौथो निर्णयस्वरुप सरकारले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।
‘भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा जाँचबुझ गर्न गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय भएको छ’, उनले भने, ‘जसअनुसार आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी पेश गरेको प्रतिवेदन बमोजिम हुनेछ । अन्यका हकमा सो आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सम्बन्धित निकाय र मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ।’











