दमौली : तनहुँको व्यास नगरपालिकाको बजार अनुगमन समितिले व्यास १ भादगाउँ क्षेत्रका पसलहरूमा अनुगमन गर्दै म्याद गुज्रिएका खाद्य तथा उपभोग्य वस्तुहरू बरामद गरेको छ। उपप्रमुख एवं अनुगमन समिति संयोजक इन्दिरा दरैको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा विभिन्न पसलबाट झण्डै ४५ हजार रुपैयाँ बराबरका म्याद नाघेका सामग्री फेला पारिएको हो।
अनुगमन टोलीले भादगाउँमा रहेका थापा इलेक्ट्रोनिक्स, पाँच चोक सप्लायर्स, छिमाल किराना पसल, मम ल्याण्ड, एन्जल मार्ट र दीपज्योति किराना पसल लगायतका व्यवसायिक केन्द्रहरूमा निरीक्षण गरेको थियो। सो क्रममा बिक्रीका लागि राखिएका म्याद सकिएका खाद्य सामग्री, प्याकेटबन्द वस्तु र अन्य उपभोग्य सामान बरामद गरी नष्ट गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।
अनुगमनपछि संयोजक दरैले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा लापरबाही नगर्न व्यवसायीलाई सचेत गराउँदै म्याद गुज्रिएका सामान बिक्री गर्नेलाई कानुनी कारबाही गरिने स्पष्ट पारिन्। “उपभोक्ताको स्वास्थ्यमा खेलवाड सह्य हुँदैन, बजारलाई व्यवस्थित र सुरक्षित बनाउनु हाम्रो प्राथमिकता हो,” उनले भनिन्।
अनुगमन समितिका सदस्य तथा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले समेत व्यवसायीलाई नियमअनुसार व्यापार गर्न आग्रह गर्दै उपभोक्ता हितविपरीत क्रियाकलाप नगर्न चेतावनी दिए। “बजार अनुगमनलाई निरन्तरता दिइन्छ, नियम उल्लंघन गर्ने कसैलाई पनि छुट दिइँदैन,” उनले उल्लेख गरे।
अनुगमन टोलीमा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, एकीकृत सेवा कार्यालय तनहुँका प्रमुख ईश्वरी प्रसाद रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योति आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, नगर प्रहरी तथा प्रहार अनलाइन मिडियाका सम्पादक शंकरराज नहर्की लगायतको सहभागिता रहेको थियो। समितिले आगामी दिनमा समेत नियमित अनुगमनलाई तीव्रता दिने जनाएको छ।











