दमौली: तनहुँको म्याग्दे गाउँपालिका–७ स्थित अर्चले माझिलाङ भावर लिफ्टिङ खानेपानी आयोजनामा फेरि तामाको तार चोरी भएको छ। सोमबार राति भएको चोरीपछि आयोजनाबाट आपूर्ति हुँदै आएको खानेपानी सेवा अवरुद्ध हुँदा करिब १६० घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् ।
गाउँपालिकाको महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको उक्त आयोजनामा सात महिनाको अवधिमा चौथोपटक चोरी दोहोरिएको हो। पटक–पटकको चोरीले स्थानीय बासिन्दा मारमा परेका छन् भने आयोजनाको दिगोपनमै प्रश्न उठ्न थालेको छ।
म्याग्दे गाउँपालिका–७ का वडाध्यक्ष वसन्तकुमार श्रेष्ठले सार्वजनिक सम्पत्तिमा हुने यस्तो गतिविधिलाई “अमानवीयताको पराकाष्ठा” भन्दै आपत्ति जनाए। “जनताको आधारभूत आवश्यकता सँग जोडिएको खानेपानीजस्तो संवेदनशील क्षेत्रमा बारम्बार चोरी हुनु दुःखद हो,” उनले भने, “यसले स्थानीयको दैनिक जीवन मात्रै होइन, विकास निर्माणप्रतिको विश्वाससमेत कमजोर बनाएको छ।”











