दुलेगौंडा : शुक्रवारदेखि शुरु हुने पाँचौ शुक्लागण्डकी महोत्सव–२०८२ को तयारी पुरा भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा आयोजना गरेको महोत्सवको तनहुँ–२ का नवनिर्वाचित प्रतिनिधी सभा सदस्य श्रीराम न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम छ । आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ सञ्चालन हुने महोत्सव चैत १७ गते सम्म सञ्चालन हुने छ ।
महोत्सव उद्घाटनपूर्व विभिन्न संघसंस्था, आमा समुह, जातजातिको सहभागितामा झाँकीसहितको र्याली याली निकालिने प्रवक्ता एवम् संघका महासचिव सुजन श्रेष्ठले जानकारी दिए । उत्कृष्ट झाँकी प्रदर्शनी गर्ने समुहलाई पुरस्कृत गरिने बताए । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको मुल संयोजक एवम् नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले बताए । उनका अनुसार सबै स्टल बुकिङ भइसकेका छन् ।
साथै राष्ट्रिय तथा स्थानिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता समावेश गरिएको श्रेष्ठले जानकारी दिए । यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ । महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव हुन लागेको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ७५ लाख खर्च हुने अनुमान छ ।











