सञ्चारकर्मीलाई एआइ तथा मोवाइल पत्रकारिता तालिम

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको आयोजना तथा गण्डकी प्रदेश प्रेस रजिष्टारको सहयोगमा एआई तथा मोबाइल पत्रकारिता तालिम आजदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले गरे ।

उद्घाटन समारोहमा प्रमुख अतिथि त्रिपाठीले प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप पनि परिवर्तन भइरहेको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता र मोबाइल प्रविधिको सही प्रयोगले सूचना प्रवाहलाई अझ प्रभावकारी, छिटो र विश्वसनीय बनाउन सक्ने बताए। “स्थानीय तहका गतिविधि, विकास निर्माण र जनसरोकारका विषयलाई आम नागरिकसम्म पुर्याउन आधुनिक पत्रकारिता अपरिहार्य छ,” उनले भने ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णप्रसाद लम्सालले डिजिटल युगमा पत्रकारहरूले नयाँ सीप हासिल नगरे सूचना क्षेत्रमा पछाडि पर्न सक्ने बताए। उनले राज्य र सञ्चार क्षेत्रबीचको सहकार्यबाट विश्वसनीय र तथ्यपरक सूचना प्रवाह सुदृढ हुने धारणा राखे ।

गण्डकी प्रदेश प्रेस रजिष्टार विमला भण्डारीले प्रदेश सरकारले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउँदै जिम्मेवार र तथ्यमा आधारित पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गरे ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सोनी शर्माले सूचना प्रविधिको विकासले अवसरसँगै चुनौती पनि ल्याएको भन्दै गलत सूचना (मिसइन्फर्मेसन) नियन्त्रणमा पत्रकारहरूको भूमिका अझ महत्वपूर्ण बनेको बताए ।

शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासङ्घ तनहुँका निवर्तमान अध्यक्ष उज्वल पौडेल तथा पूर्व अध्यक्षहरू प्रेमप्रसाद पौडेल, डम्बरबहादुर अधिकारी र ओमकार आचार्यले पनि तालिमले जिल्लाका पत्रकारहरूलाई समयानुकूल सीप प्रदान गर्ने विश्वास व्यक्त गरे ।

बुधबार र बिहीबार सञ्चालन हुने तालिममा जिल्लाभरका करिब ४० जना पत्रकारको सहभागिता रहेको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिए । तालिममा प्रशिक्षक जीवन भण्डारीले सहजीकरण गर्नेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्