दलहरूले गण्डकीबाट मत बटुले, समानुपातिक सांसद अर्कै प्रदेशलाई

दमौली न्युज
  • ख-
  • ख+

पोखरा :  मतका आधारमा थ्रेस होल्ड कटाएका ६ वटा राजनीतिक दलबाट गण्डकीका ५५ जना उम्मेदवार समानुपातिक बन्दसूचीमा परेका थिए ।

सबैभन्दा धेरै नेपाली कम्युनिस्ट पार्टीबाट १६ जना बन्दसूचीमा थिए । यस्तै, एमालेबाट १० जना, नेपाली कांग्रेसबाट ९ जना, रास्वपाका ८ जना, राप्रपा र श्रम संस्कृतिबाट ६/६ जना बन्दसूचीमा परे । तर, निर्वाचित हुने बेलामा भने गण्डकीबाट ५ जना मात्रै परेका छन् । रास्वपाबाट २ जना र अन्य ३ दलबाट १/१ जना मात्रै सांसद बनेका हुन् । 

रास्वपाबाट बागलुङकी गंगा छन्त्याल र गोरखाकी एलिजा गुरुङ मात्रै अटाएका छन् । उनीहरू दुवै आदिवासी जनजाति महिला क्लस्टरबाट सांसद बनेका हुन् । एमालेबाट स्याङजाकी पद्या कुमारी अर्याल खस आर्य महिला कोटाबाट सांसद बनिन् । कांग्रेसबाट बागलुङकी रेनुका काउचा आदिवासी जनजातिबाट अटाउँदा नेकपाबाट पनि बागलुङकी बलावती शर्मा मात्रै सांसद बनेकी छिन् । उनी खसआर्य महिला क्लस्टरकी सांसद हुन् । 

राप्रपा र श्रम संस्कृति पार्टीबाट गण्डकीका कोही पनि सांसद बनेका छैनन् । रोचक के छ भने निर्वाचित समानुपातिकमध्ये सबैभन्दा धेरै बागलुङ जिल्लाका छन् । बागलुङबाट मात्रै ३ जना सांसद फरक–फरक दलबाट बनेका हुन् । रास्वपा, कांग्रेस र नेकपाबाट बनेका सांसदहरूको ठेगाना बागलुङ हो । दलहरूले आफ्नो पार्टीबाट निर्वाचित हुने सांसदहरूको सूची निर्वाचन आयोगलाई बुझाएका छन् । बन्दसूचीबाटै उनीहरूको नाम टुंगिने भए पनि क्लस्टरका आधारमा केही नाम तलमाथि गर्ने अधिकार सम्बन्धित दललाई नै हुन्छ । 

समानुपातिक बन्द सूची बुझाउने बेलामै दलहरूले गण्डकीलाई खासै प्राथमिकता राखेका थिएनन् । तीन निर्वाचन क्षेत्र रहेको कास्कीबाट एक जना पनि समानुपातिक सांसद बनेका छैनन् । दुई निर्वाचन क्षेत्र रहेका तनहुँ र नवलपुरमा पनि सांसद छैनन् । अन्य प्रदेशका एकै जिल्लामा धेरै सांसद बन्दा गण्डकीका जिल्लाहरूबाट दलहरूले उम्मेदवार छनोट गर्दा पनि पछि पारेका छन् । प्रदेशका प्रत्यक्षतर्फ १८ सिटमा भने रास्वपाले १५ ठाउँमा जितेको छ । 

नेपाली कांग्रेसले २ सिट जित्दा एक भने स्वतन्त्रले जिते । समानुपातिकबाट गण्डकीमा रास्वपाले ५ लाख २५ हजार ६ सय ३५ मत पाएको छ । कांग्रेसले २ लाख ७ हजार ३ सय ८७, एमालेले १ लाख ५२ हजार १ सय ८७ र नेकपाले ५७ हजार ८ सय ७६ मत पायो । राप्रपाले २३ हजार ५ सय ५७ मत पाउँदा श्रम संस्कृतिले १८ हजार ९ सय ९५ मत प्राप्त गरेको छ ।

मतका आधारमा हिसाब गर्दा रास्वपाले गण्डकीमा करिब ६ जना सांसद बनाउनुपर्ने हो । कांग्रेसले कम्तीमा २ स्थान दिनुपर्नेमा १ जना मात्रै समानुपातिबाट तानेको छ । एमालेले पनि करिब २ सिट गण्डकीलाई दिनुपर्नेमा एउटा मात्र दिएको छ । साभारः रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्