काठमाडौं : ७ जना भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानवीन गर्न समिति गठन गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख एसपी दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले जानकारी दिए।
समितिले १४ जना भारतीय तीर्थयात्री बोकेको बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ। सो ईभी माइक्रोबस मनकामना–आँबुखैरेनी सडक खण्डअन्तर्गत सहिद लखन गाउँपालिका–३ कान्टार नजिकको भीरबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो।
सो दुर्घटनामा मनकामनाको पूजाआजा गरी फर्केका तमिलनाडु राज्य, चेन्नईका सातजनाको घटनास्थलमै मृत्यु भएको थियो। मृतकहरूको प्रदेश अस्पताल गोरखामा पोस्टमार्टम गरी शव भारतीय दूतावासलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। अन्य ७ जना तीर्थयात्री गम्भीर घाइते भएका थिए। घाइतेहरूको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको एसपी बिकले जानकारी दिए।











