काठमाडौं : समानुपातिक सांसद सिफारिस गर्न आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘भर्चुअल’ बैठकमा वरिष्ठ नेता बालेन शाह सहभागी भएनन्।
पार्टीले भावी प्रधानमन्त्री घोषणा गरेका बालेन शाहको अनुपस्थितिमै आइतबार सचिवालय बैठक बसेर समानुपातिक सूचीबाट ५७ जनाको नाम टुंगो लगाइएको छ।
पार्टी कार्यालयमा बस्ने भनिएको उक्त बैठक सभापति रवि लामिछानेको अस्वस्थताका कारण ‘भर्चुअल’ रूपमा बसेको थियो। लामिछाने अहिले घरमै स्वास्थ्य लाभ गरिरहेका छन्।
बालेनको उपस्थितिबिना सचिवालय बैठकले समानुपातिक उम्मेदवार कसरी टुंगो लगायो भन्नेबारे हामीले पदाधिकारी तहका एक नेतालाई सोधेका थियौं।
सचिवालय बैठकमा बालेन सहभागी नभए पनि सभापति र वरिष्ठ नेताको आपसी सहमतिमै नाम टुंगो लगाइएको उनले बताए।
‘दुई नेताले पहिले नै नाम टुंगो लगाउनुभएको थियो। आज सचिवालय बैठकले प्राविधिक रूपमा निर्णय गरेर निर्वाचन आयोगमा सूची बुझाएको हो,’ ती नेताले भने, ‘दुई नेताबीच कुनै असमझदारी छैन।’
आयोगमा बुझाइएको नाम रास्वपाले सार्वजनिक गरेको छैन। रूजु र प्रमाणित गरेपछि आयोग आफैले नाम सार्वजनिक गर्ने भएकाले पार्टीबाट सार्वजनिक नगर्ने निर्णय भएको प्रवक्ता मनिष झाले बताएका छन्।
केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरेको छ। यसमा खसआर्य तर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारू ४ जना समावेश गरिएको छ।
समानुपातिक सांसद सिफारिस गर्ने बैठकमा बालेन टिमका अन्य सदस्य पनि सहभागी थिएनन्।
निर्वाचनअघि नै बालेनको टिमबाट महामन्त्रीमा सुनिल लम्साल र सहमहामन्त्रीमा भूपदेप शाह पदाधिकारीमा समेटिएका थिए। तर रास्वपाको केन्द्रीय समिति बैठकबाट आफूहरूको नाम अनुमोदन हुन बाँकी रहेकाले सचिवालय बैठकमा सहभागी नभएको भूपदेवले बताएका छन्।
‘उपसभापतिज्यूले केन्द्रीय समितिबाट नाम अनुमोदन बाँकी छ भन्ने जानकारी गराउनुभयो,’ शाहले सेतोपाटीसँग भने, ‘केन्द्रीय सदस्यहरू काठमाडौं बाहिर हुनुहुन्छ। सबै जना काठमाडौं आउन सम्भव नभएकाले बैठक बसेको छैन। हाम्रो नाम अनुमोदन भएपछि हामी बैठकमा सहभागी हुन्छौं।’
राष्ट्रिय स्वतन्त्र पार्टीको वेबसाइटमा पनि सुनिल र भूपदेवको नाम पदाधिकारीका रूपमा समेटिएको छैन। बालेन शाहलाई भने वरिष्ठ नेताका रुपमा उल्लेख गरिएको छ। निर्वाचनमा जानुअघि नै बालेनले पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका थिए। साभारः सेतोपाटी











