काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी १ का नवनिर्वाचित सांसद हर्क सम्पाङले सदनमा भ्रष्टाचारविरुद्ध बोलेको बोल्यै गर्ने बताएका छन् । मतदातालाई धन्यवाद दिन आयोजित समारोहमा साम्पाङले देशबेचुवा र भ्रष्टाचारीहरूलाई हायलकायल बनाउने बताए ।
उनले अहिलेसम्म आफू काम गर्ने ठाउँमा रहेको तर अब बोल्ने ठाउँमा पुगेको बताउँदै भने, ‘देश बेचुवाहरूलाई हायलकायल बनाउनु छ । भ्रष्टचारीहरूलाई हायलकायल बनाउनु छ । अहिलेसम्म काम गर्ने ठाउँमा थिए । मेयर भनेको काम गर्ने ठाउँ हो । अब म बोल्ने ठाउँमा पुगेको छु । कति बोल्छ होला हर्क साम्पाङ ?’
साम्पाङले आफूले सदनमा पिछडा वर्गका आवाज बोल्ने बताए । ‘मैले के बोल्छु त भन्दा, किसानका कुरा, मजदुरका कुरा, दलितका कुरा, पिछडा वर्गका कुरा’, साम्पाङले भने, ‘दार्चुलाको तुइन त्यसै देख्छु मैले ? अरुजस्तो भएको भए त सिंहदरबारको कुर्सी मात्रै देख्थे ।’
यति भनेर साम्पाङले मिडियाको आलोचना सुरु गरे । मिडियाकै कारण रास्वपाको पक्षमा ह्वीम चलेको उनको गुनासो छ ।
उनले भने, ‘मिडियाहरूले ६ महिनाअघिदेखि भनिरहेका थिए फलानाले जित्छ भनेर । कसरी थाहा हुन्छ उनीहरूलाई ?’
‘सबैभन्दा पहिले मिडियालाई किनिन्छ । मिडियालाई किनेपछि कालो कलरको मोबाइललाई सेतो कलरको बिस्कुट भनेको भन्यै गर्छ । जनतालाई लाग्छ– हो यो त सेतो कलरकै बिस्कुट हो’, हातको मोबाइल देखाउँदै साम्पाङले सोधे, ‘यो सेतो कलरको बिस्कुट हो र ?’
आफूहरू दह्राे खुट्टा भएका मानिस भएकोले रास्वपाको ह्वीममा पनि केही सिट जितेको साम्पाङले बताए । ‘मिडियाले फलाना, फलाना, फलाना, फलाना भनिदियो । नहुने–नहुने कुरा लगाइदियो । ह्वीइममा स्वाट्ट भोट गयो । हामीचाहिँ दह्राे खुट्टा भएको मान्छे…’, हर्कले भने ।
केही मिडियाले आफूलाई पनि साथ दिएको उनले बताए । फेसबुकले त बेला–बेला स्टाटससमेत लेख्न नदिने गरेको उनले गुनासो गरे











