काठमाडौं : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना लगभग सकिएको छ। प्रत्यक्षतर्फ १६५ सिटकै परिणाम घोषणा भइसकेको छ भने समानुपातिक मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिटमा जित हासिल गरेको छ। समानुपातिकतर्फ जारी मतगणनामा पनि अहिलेसम्म ४८ प्रतिशत मत रास्वपाले ल्याएको छ। यस आधारमा रास्वपाले समानुपातिकबाट थप ५८ सिट जित्ने देखिन्छ।
निर्वाचनको यो आँकडाले धेरैलाई अब बालेन शाह कहिले प्रधानमन्त्री बन्छन् र उनको नेतृत्वको सरकार कहिले बन्छ भन्ने चासो छ।
हामीले यसबारे निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईसँग कुरा गरेका छौं।
उनका अनुसार समानुपातिक मतगणना सकिएपछि आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाउँछ। त्यसपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न बाटो खुल्ने उनले बताए।
राष्ट्रपतिलाई प्रतिवेदन बुझाउनुअघि आयोगले केही काम गर्न बाँकी रहेको जानकारी उनले दिए।
प्रवक्ता भट्टराईका अनुसार समानुपातिक मतगणना सकिएपछि आयोगले दलहरूले पाएको समानुपातिक मतका आधारमा सिट संख्या निर्धारण गर्छ। सिट संख्या निर्धारणपछि राजनीतिक दलहरूसँग ती सिटमा मनोनयन गर्ने सांसदको सूची माग्छ।
त्यसपछि उक्त सूची विभिन्न ‘क्लस्टर’ अनुसार मिले-नमिलेको हेर्छ। नमिलेको रहेछ भने फेरि मिलाउन लगाउँछ।
क्लस्टर मिलाउने भनेको दलले समानुपातिकमा प्राप्त गरेको सिट संख्यामा समानुपातिकको बन्दसूचीबाट विभिन्न लिंग, वर्ग र जातीय हिसाबले प्रतिनिधित्व सुनिश्चित गर्नु हो।
जस्तो — संसदमा हरेक दलले ३३ प्रतिशत महिला सदस्य पठाउनुपर्छ। ती महिलामध्ये दलित, मधेसी, जनजाति, खसआर्य लगायतका विभिन्न समूहबाट प्रतिनिधित्व भएको छ कि छैन हेर्नुपर्छ।
यसरी क्लस्टर अनुसार प्रतिनिधित्व सुनिश्चित गरेपछि आयोगले समानुपातिकबाट चुनिएका सबै सांसदलाई प्रमाणपत्र दिन्छ।
‘यी काम सकिएपछि प्रतिनिधिसभा निर्वाचनमा कुन दलले कति सिट जितेको छ भन्नेबारे पूर्ण प्रतिवेदन हामी राष्ट्रपतिसमक्ष पेस गर्छौं,’ प्रवक्ता भट्टराईले भने, ‘समानुपातिक सांसद निर्वाचित गरिसकेपछि बल्ल प्रतिवेदन तयार बनाएर राष्ट्रपतिलाई बुझाउने हो। यसका लागि चैत पहिलो सातासम्मको समय लाग्ने छ।’
चैत पहिलो साताभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको बाटो खुल्ने उनले बताए।
सरकार गठनको बाटो खुलेपछि बालेनको नेतृत्वमा सरकार बन्ने प्रक्रिया के हो त?
प्रतिनिधिसभा निर्वाचनमा बहुमत सिट जित्ने पार्टीको संसदीय दलको नेता नै सरकार प्रमुख हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा ७६ (१) मा ‘प्रतिनिधिसभामा बहुमतप्राप्त राजनीतिक दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने’ भनिएको छ।
यस आधारमा सरकार गठनको बाटो खुलेपछि रास्वपाले आफ्नो संसदीय दलको नेता चुन्नुपर्ने छ।
रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो। बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर रास्वपा निर्वाचनमा गएको हो। त्यसैले संसदीय दलको नेता पनि बालेनलाई नै बनाउने निश्चितजस्तै छ।
रास्वपाले बालेनलाई संसदीय दलको नेता चुनेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री नियुक्त गर्ने छन्।
निर्वाचन आयोगको विधि र संसदीय दलको नेता चुन्ने रास्वपाको आन्तरिक प्रक्रियाका आधारमा चैत दोस्रो साता मात्र बालेन शाह प्रधानमन्त्री नियुक्त हुने देखिन्छ। साभारः सेतोपाटी











