काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी (आज) बुधबार राति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन सुरक्षा व्यवस्थालाई कडाइ गर्दै मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
यद्यपि अत्यावश्यक र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारी साधन भने निर्वाध रूपमा सञ्चालन हुनेछन् । आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चालनमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताए । उनका अनुसार आयोगले तीन प्रकारका सवारीसाधनलाई भने सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । सूचना अधिकारी घिमिरेका अनुसार अत्यावश्यक सेवाका सवारी एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारीसाधन, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधनहरू सञ्चालन गर्न पाइनेछ । साथै कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ । सम्पूर्ण मतदाता तथा यात्रीहरूलाई आफ्ना गन्तव्यमा पुग्नुपर्ने भए सवारीसाधन बन्द हुनुअगावै पुगिसक्न सूचना अधिकारी घिमिरेले आग्रह गरे ।
उनले भने, ‘आज राति १२ बजेबाट भोलि मतदानको कार्य सम्पन्न नहुन्जेलसम्म अथवा भोलिको साँझ ५ बजेसम्म सवारी साधन आवागमनमा निषेध गर्ने गरी निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । सो बमोजिम अत्यावश्यक सेवाका केही सवारीसाधनबाहेक अन्य सवारी साधनहरू चलाउन नपाइने अवस्था हुन्छ । त्यसैले सम्पूर्ण मतदाता महानुभावहरू, आफ्नो गन्तव्यमा पुग्नुपर्ने यात्रीहरू सबैले आज राति १२ बजेसम्म पुगिसक्नुपर्ने हुन्छ । आज राति १२ बजेसम्म मात्रै सवारी साधन चल्ने बेहोरा म सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु । यो सवारी साधन निषेधको अवस्थामा तीन वटा प्रकारले सवारीसाधन सञ्चालन गर्न पाइन्छ । एउटा, अत्यावश्यक सेवाका सवारीसाधनहरू एम्बुलेन्स, दमकल, शववाहनजस्ता अत्यावश्यक सेवाका सवारी सञ्चालन गर्न पाइन्छ । त्यसैगरी कूटनीतिक नियोगका निलो प्लेट भएका सवारी साधनहरू पनि सञ्चालन गर्न पाइन्छ । निर्वाचन आयोग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले निर्वाचन आयोगले स्वीकृत गरेको कार्यविधि बमोजिम पास उपलब्ध गराएका सवारीसाधनहरू पनि यो अवधिमा सञ्चालन गर्न पाइनेछ ।’











