तनहुँ–१ मा विकास र निष्ठाको नयाँ मानकः यसकारण जित्नै पर्ने दबाबमा गोविन्द भट्टराई

दमौली न्युज
  • ख-
  • ख+

दमौली: राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक विरासत र केन्द्रीय स्तरका नेताहरूको उर्वर भूमिको रूपमा रहेको तनहुँ निर्वाचन क्षेत्र नम्बर १ यतिबेला देशैभरको राजनीतिक चासोको केन्द्र बनेको छ । यही फागुन २१ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच रोचक त्रिपक्षीय प्रतिस्पर्धा देखिए पनि स्थानीय स्तरमा भिजेका, निष्ठावान् र ‘विकासका इन्जिनियर’ मानिने गोविन्द भट्टराईको चर्चाले नयाँ उचाई लिएको छ ।

वि.सं. २०५३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएर देशभरका विद्यार्थीको सफल नेतृत्व गरेका भट्टराई बाल्यकालदेखि नै लोकतन्त्र र जनअधिकारका लागि समर्पित व्यक्तित्व हुन् । नेविसंको दुई कार्यकाल नेतृत्व सम्हाल्दा उनले “सर्टिफिकेट धितो राखेर ऋण लिन पाउने’’ व्यवस्थाका लागि गरेको आन्दोलन र भ्रष्टाचारविरुद्धको कडा अभियानले उनलाई सुशासनको प्रतिमूर्तिका रूपमा स्थापित गरेको छ । दशकौँ लामो राजनीतिक यात्रामा एकपटक पनि लाभको पद नलिई निरन्तर समाज सेवामा खटिनु र निष्ठाको राजनीति गर्नु नै उनको सबैभन्दा ठूलो पुँजी हो, जसका कारण उनलाई यसपटक “त्यागी र बेदाग’’ जनप्रिय नेताका रूपमा हेरिएको छ ।

विशेषगरी तनहुँको प्यासी बस्तीमा खानेपानीको मूल फुटाउन भट्टराईले गरेको योगदान अहिले उनको जितको बलियो आधार बनेको छ । उनकै विशेष पहलमा जिल्लाका विभिन्न स्थानमा ६० भन्दा बढी खानेपानीका योजनाहरू सम्पन्न भइसकेका छन् भने ३० भन्दा बढी योजनाहरू निर्माणाधीन छन् । यसको जीवन्त उदाहरण दिँदै आँबुखैरेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पूर्व अध्यक्ष नस्तुराम कँडेल भने, “भट्टराईकै विशेष पहलमा १८ करोड २७ लाख रुपैयाँको बृहत् योजना आँबुखैरेनी सम्भव भयो, जसले गर्दा आज ११२९ घरधुरीले चौबिसै घण्टा स्वच्छ पानी पिउन पाएका छन् ।’’  त्यस्तै, भानु नगरपालिका–२ का निर्माणाधीन अम्बोटे कालीमाटी खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवराज त्रिपाठी पनि भट्टराईलाई विकासको पर्याय मान्छन् ।

भट्टराईको विकास अभियानले भुइँमान्छेको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याएको छ । भानु नगरपालिका–१३ ठुलोढुङ्गा निवासी हेमलाल श्रेष्ठले घण्टौँसम्म डोकोमा पानी बोक्नुपर्ने बाध्यता भट्टराईले गर्दा हटेको भन्दै खुसी व्यक्त गरे । भानु–६ धरमपानीकी विर्खमाया गुरुङ गाउँमा खानेपानी मात्र नभई विद्युतीकरणको उज्यालो ल्याउनमा भट्टराईकै मुख्य देन रहेको बताए । यो लहर बन्दीपुरसम्म फैलिएको छ, जहाँ बन्दीपुर–५ भुजेल गाउँकी तारामाया भुजेलले स्वास्थ्य, शिक्षा र बाटो निर्माणमा भट्टराईको गुन कहिल्यै भुल्न नसकिने उल्लेख गरे । आँबुखैरेनीका अपाङ्गता भएका नागरिक दिनेश कार्कीले त भट्टराईलाई “पानी खुवाउने र बाटो–पुल बनाउने असली नेता’’ भन्दै उनलाई जिताउन स्वतःस्फूर्त रूपमा भोट मागिरहेका छन् ।

राजनीतिक समीकरणको पाटो हेर्दा पनि यसपटक भट्टराईको अवस्था निकै सुदृढ देखिन्छ । अघिल्लो उपनिर्वाचनमा रास्वपालाई सघाएको जोशी समूहले यसपटक आफ्नै उम्मेदवारी दिएपछि विपक्षी मत बाँडिने निश्चित छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ का सभापति श्यामकुमार मौरतीका अनुसार रास्वपाबाट निर्वाचित उम्मेदवारले जनताले महसुस गर्ने गरी काम गर्न नसक्नु र कांग्रेसको करिब २० हजार स्थिर मतमा भट्टराईको व्यक्तिगत लोकप्रियताले थपिने ७ हजार बढी मत नै जितको मुख्य आधार हुनेछ । २०७९ को निर्वाचनमा एमालेका एकबहादुर रानाले १९ हजार ९२५ मत प्राप्त गरेका थिए भने पार्टीले समानुपातिकतर्फ साढे १६ हजार मत पाएको थियो । निर्वाचनमा एमालेको साढे १६ हजार समानुपातिक मत पछिल्लो उपनिर्वाचनमा ८ हजार ४८८ मा खुम्चिनु र एमालेको करिब ११ हजार मत रास्वपातिर जानुले  भट्टराईले पराजय भोग्नु परेको थियो ।

एमालेले पूर्वमन्त्री भगवती न्यौपानेलाई उम्मेदवार बनाएको आफ्नो भोट रक्षा गर्ने रणनीतिमा लागेकोले भट्टराईलाई जीत निकाल्न सहज देखिएको राजनीतिक विश्लेषक बताउँछन् । रास्वपाका बालेन शाहले झापामा एमाले अध्यक्ष केपी ओलीलाई उम्मेदवार बनाएपछि रास्वपा प्रति एमाले आक्रोशित छ । यसले गर्दा हार्ने अवस्था आउँदा रास्वपाले मत पाउने देखिदैन यसले पनि भट्टराईलाई थप सहज बनाएको छ ।
पद र शक्तिको लोभ नगरी दशकौँदेखि तनहुँको माटोमा पसिना बगाएका र कुनै पनि भ्रष्टाचारको दाग नलागेका गोविन्द भट्टराईलाई यसपटक संसदमा पुर्याएर क्षेत्रको विकासलाई अझ गति दिने मनसायमा तनहुँवासी देखिएका छन् ।

नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले विगतको त्याग र वर्तमानको विकासप्रेमी छविका कारण भट्टराईको जित सुनिश्चित भएको दाबी गरे । समग्रमा, यो निर्वाचन भट्टराईलाई लागि केवल एक पदको प्राप्ति नभई तनहुँको विकास र निष्ठाको राजनीतिको विजयको रूपमा हेरिएको छ ।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी