काठमाडौंः प्रतिनिधि सभा सदस्य उम्मेदवार रहिसकेका प्रणय राणाले राजीनामा दिए पछि काठमाडौैं ५ को रास्वपामा पहिरो गएको छ ।
बेथिति सुधारको साटो उल्टो अनियमतिता बढ्दै गएको भन्दै रास्वपाका काठमाडौं ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले शुक्रबार सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरुले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटका आवरणमा आर्थिक अनियमितता समेत भएको आरोप नेतृत्वमाथि लगाएका छन् । यसैगरी, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ ।
राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरु समिप घले र कवि थापा मगर छन् ।
यसैगरी, वडा पदाधिकारीहरु बुनपा ७ की प्रतिभ सेढाइं, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सृजना बस्नेत र शोभा सुवेदी, सदस्यहरु बुनपा ४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटी छन् ।
उनीहरु रास्वपाका पूर्व उम्मेदवार प्रणय राणा निकट मानिन्छन् । राणा हालै मात्र कांग्रेस प्रवेश गरेका थिए । यसले निर्वाचनको नजिकैमा रास्वपालाई धक्का लाग्ने देखिएको छ ।











