देवघाट : नेपाली कांग्रेसका नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले सामाजिक सञ्जालमा देखाइने विकासको भ्रममा नपर्न मतदाताहरूलाई विशेष आग्रह गरे । बिहीबार देवघाट गाउँपालिकाका मतदातालाई सम्बोधन गर्दै नेता भट्टराईले सामाजिक सञ्जालमा आकर्षक एजेन्डा र सुन्दर सपना बाँड्ने तर व्यवहारमा सिन्को नभाँच्ने प्रवृत्तिप्रति मतदाताहरू सचेत र शंकालु हुनुपर्ने बताए।उनले आफ्नो विकासको मोडेल सामाजिक सञ्जालमा फोटो प्रदर्शनी गर्ने मात्र नभई जनताले प्रत्यक्ष अनुभूति गर्ने व्यवहारिक विकास भएको दाबी गरे ।
आफू ग्रासरुटबाटै संघर्ष गरेर उठेको नेता भएको स्मरण गराउँदै भट्टराईले पदमा रहँदा वा नरहँदा पनि यस क्षेत्रको खानेपानी समस्या समाधान, बाटो र पुल निर्माणका लागि निरन्तर खटिँदै आएको बताए । “मलाई जिताएर पठाउनुस्, यस क्षेत्रको समग्र विकासको पूर्ण जिम्मा म लिन्छु,“ उहाँले प्रतिबद्धता व्यक्त गरे । विशेष गरी देवघाट धामलाई केन्द्रमा राखेर धार्मिक पर्यटनको बृहत्तर विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनको भनाइ थियो। देवघाट धाम, छिम्केश्वरी, व्यास–पराशर जन्मभूमि, आँधीमूल, थानीमाई र आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई जोडेर तनहुँलाई विश्वकै प्रमुख धार्मिक पर्यटन केन्द्रको रूपमा स्थापित गर्ने उनले उद्घोष गरे ।
त्यसैगरी सहिद भूमि पुलिमराङ र पहाडकी रानी बन्दीपुरको पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको आर्थिकस्तर उकास्ने योजना पनि उनले अघि सारे । आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न अपिल गर्दै उनले काम गर्ने र कुरा गर्ने शक्ति बीचको सही पहिचान गर्न मतदातालाई आग्रह गरे । धार्मिक र ऐतिहासिक सम्पदाहरूको संरक्षण र विकास नै तनहुँको समृद्धिको आधार भएको भन्दै भट्टराईले व्यवहारिक विकासका लागि आफूलाई अमूल्य मत दिन अपिल गरेका थिए।











