डुम्रे : तनहुँको बन्दीपुर–१, डुम्रेमा भृगु नेवा: पुच: को १०औँ साधारण सभा तथा चौथो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष पुन नारायण श्रेष्ठको अध्यक्षतामा शनिबार आयोजित उक्त समारोहमा बन्दीपुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नेवा: देय् दबूका जिल्ला अध्यक्ष किसन प्रधान, राजेश पिया र राजेन्द्र पिया लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
साधारण सभामा कोषाध्यक्षद्वारा प्रस्तुत आय–व्यय विवरण र सचिवद्वारा प्रस्तुत प्रगति प्रतिवेदनमाथि कुनै जिज्ञासा वा गुनासो नभएपछि सभाले सर्वसम्मतिले उक्त प्रतिवेदनहरू पारित गरेको थियो। अधिवेशनले नयाँ कार्यसमिति चयनका लागि राजेन्द्र पियाको संयोजकत्वमा शुक्र कुमार श्रेष्ठ र अञ्जिर प्रधान सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरेको थियो।
उक्त अधिवेशनबाट सुनील श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। समितिको उपाध्यक्षमा तारा पिया, कोषाध्यक्षमा अर्जुन श्रेष्ठ र सदस्यहरूमा सुलभ कुमार श्रेष्ठ, रविन्द्र श्रेष्ठ, लक्ष्मण जोशी, शर्मिला श्रेष्ठ र विशाल श्रेष्ठ चयन हुनुभएको छ। नवनिर्वाचित समितिले संस्थाको विधान र उद्देश्य अनुरूप समुदायको हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।











