दमौली : नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले राष्ट्रपतिको जन्मगाउँ व्यास नगरपालिका–८ रिस्तीमा मतदातासँग संवाद गर्दै राष्ट्रपतिले प्रारम्भ गरेका अधुरा विकास योजना सम्पन्न गर्ने जिम्मेवारी आफ्नो भएको बताए । उनले “राष्ट्रपतिले थालेका योजना बीचमै रोकिनु हुँदैन, ती सबै पूरा गर्नु मेरो दायित्व हो,” भन्दै संकटका बेला काम गर्न सक्ने परिपक्व शक्ति नेपाली काँग्रेस मात्र भएको दाबी गरे। बदलिएको काँग्रेसले नै देशलाई सही दिशा दिन सक्ने उल्लेख गर्दै उनले सामाजिक सञ्जालको प्रभावमा नपरी विवेकपूर्ण निर्णय गर्न मतदातालाई आग्रह गरे ।
भट्टराईले पार्टी सभापति गगन थापाको नेतृत्वलाई उदाहरण दिँदै अनुभव र युवा ऊर्जाको संयोजनले काँग्रेसलाई थप सशक्त बनाएको धारणा राखे । चार पटक सांसद र मन्त्री भइसकेको अनुभवका आधारमा थापा भावी प्रधानमन्त्रीका रूपमा देश हाँक्न सक्षम रहेको उनको विश्वास थियो । यसअघि व्यास नगरपालिका–७ मा आयोजित भेटघाट कार्यक्रममा स्थानीय नवराज बानियाले भट्टराईलाई राष्ट्रपतिको उत्तराधिकारीका रूपमा चित्रण गर्दै तनहुँको गौरवका नेता भएको बताएका थिए। उनका अनुसार, सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लाई राष्ट्रिय राजनीतिमा डोर्याउन भट्टराईको महत्वपूर्ण योगदान रहेकोले राष्ट्रपतिको उत्तराधिकारी रहेको बताए।
नेपाली काँग्रेस व्यास नगरपालिका–७ का वडा सचिव बिनोद गोशलीले राष्ट्रपति रामचन्द्र पौडेल पछिको तनहुँको सक्षम र विकासप्रेमी नेताका रूपमा भट्टराईलाई लिनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा काँग्रेसका युवा नेता नविनराज पौडेलले राष्ट्रपतिको प्रयाशमा रिस्ती–पाउँदी करिडोरका लागि १६ करोड रुपैयाँ विनियोजन भइसकेको र स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न तर्फ उन्मुख रहेको उल्लेख गर्दै “केही भएन भन्न नमिल्ने” बताए। अघिल्लो निर्वाचनमा करिब ८० प्रतिशत मत काँग्रेसको पक्षमा परेको स्मरण गराउँदै अब त्यसलाई ९० प्रतिशतमा पुर्याउन सबै एकजुट हुनुपर्ने उनको आह्वान थियो । भट्टराईले अधुरा सपना र सार्वजनिक प्रतिबद्धता पूरा गर्ने दृढता व्यक्त गर्दै तनहुँ–१ मा काँग्रेसलाई अत्यधिक मतले विजयी गराउन मतदाता समक्ष अपिल गरे ।











