काठमाडौँ तनहुँको भविष्य र विकासको दिशाबारे छलफल गर्न काठमाडौँमा बसोबास गर्ने तनहुँबासीहरू एकै ठाउँमा जुटेका छन् । नेपाली कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको विशेष भेलामा सहभागी मतदाताहरूले आगामी निर्वाचनलाई “सक्कली सुन र बाहिर मात्र टल्किने पित्तल छुट्याउने अवसर” का रूपमा व्याख्या गरेका छन् । उनीहरूले संकटको समयमा साथ दिने, दीर्घकालीन सोच राख्ने र विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सक्ने नेतृत्व रोज्नुपर्नेमा जोड दिएका छन् । तनहुँको क्षेत्र नम्बर १ का गोविन्द भट्टराई र क्षेत्र नम्बर २ का शंकर भण्डारीसँग अन्य पार्टीका नेताहरुको तुलना हुन नसक्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायित्वका लागि जनताको सचेत निर्णय अपरिहार्य रहेको बताए । तनहुँसँग आफ्नो भावनात्मक सम्बन्ध उल्लेख गर्दै उनले विकास र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराई ले प्रवासमा रहेका मतदाताको सक्रिय सहभागिताप्रति आभार व्यक्त गर्दै बदलिएको कांग्रेस विकासप्रति प्रतिबद्ध रहेको बताए । भेलामा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले दिगो विकासका लागि अनुभव र स्पष्ट कार्ययोजना भएको नेतृत्व आवश्यक पर्ने धारणा राख्दै उनले नारा भन्दा कार्यान्वयन क्षमताले नै जिल्लाको मुहार फेर्ने उल्लेख गरे ।
यसै सन्दर्भमा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले मतदाताको उत्साहजनक उपस्थितिले आफूलाई निकै भावुक बनाएको बताए, “तपाईंहरूको यो बाक्लो उपस्थितिले एउटै संकेत गरेको छ— तनहुँ रूपान्तरणका लागि यो बदलिएको कांग्रेसको विकल्पको रुपमा देखिएको छ ।
त्यस्तै, अर्का वक्ता अर्जुन बहादुर अधिकारीले तनहुँको विकासका लागि सक्षम नेतृत्वको अपरिहार्यता औंल्याए, सम्पर्क समितिका अध्यक्ष उत्तम मिश्रले कांग्रेसका उम्मेदवारहरूसँग अरूको तुलना हुन नसक्ने दाबी गरे । मतदाताहरूले व्यक्त गरेको “सुन र पित्तल“ छुट्याउने यो नयाँ भेलामा व्यक्त मतदाताको धारणा अनुसार यस पटकको निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया नभई तनहुँको भावी दिशा निर्धारण गर्ने अवसरका रूपमा हेरिएको छ । सहभागीहरूले विवेकपूर्ण निर्णय मार्फत जिल्लाको समृद्धि यात्रालाई बलियो आधार दिनु पर्नेमा जोड दिएका थिए ।











