दमौली : आफ्नो पहिचानको रक्षा र पुर्ख्यौली विरासतको जगेर्ना गर्ने एउटा साझा संकल्पका साथ ब्राह्मण समाज नेपाल, बन्दीपुर गाउँपालिकाको दोस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न भएको छ ।
समाजका अध्यक्ष बामदेव भट्टराईको अध्यक्षतामा आयोजित उक्त गरिमामय सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले वर्तमान समयको गम्भीर चित्र प्रस्तुत गरे । उनले भने, “आजको आवश्यकता केवल संगठन खोल्नु मात्र होइन, बरु आफ्नो लोपोन्मुख संस्कारलाई पुनर्जीवित गर्नु हो ।’’ उनले राज्यको नीतिमाथि प्रश्न उठाउँदै थपे, “आरक्षण जातको आधारमा होइन, अभाव र आँसुका आधारमा वर्गलाई दिइनुपर्छ, जसले मात्र वास्तविक न्याय गर्छ ।’’
कार्यक्रममा जिल्ला सचिव कृष्णहरि गैरेले व्यक्ति, समाज र राष्ट्रको अन्तर सम्बन्धलाई केलाउँदै भने— “जबसम्म हाम्रो आचरण सुध्रिँदैन, तबसम्म समाज बलियो हुन सक्दैन ।’’ उनको यो भनाइले सहभागीहरूमा नैतिक जिम्मेवारीको बोध गराएको थियो । त्यस्तै, पूर्व केन्द्रीय सदस्य गोवर्धन भट्टराई, रामचन्द्र भट्टराई र कृष्णचन्द्र भट्टराई लगायतका वक्ताहरूले नयाँ पुस्तालाई आफ्नो जरा (संस्कार) सँग जोड्न नसके भविष्य अन्धकार हुने भन्दै चिन्ता र चिन्तन दुवै व्यक्त गरे ।
नयाँ सारथी, नयाँ यात्रा अधिवेशनको बन्द सत्रले श्रीप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सहभागीहरूले यो नेतृत्वले समाजलाई केवल एउटा संस्थाको रूपमा मात्र नभई एउटा परिवारको रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरे ।











