मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्छ : पूर्वराजा शाह

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले देश अहिले इतिहासकै दर्दनाक अवस्थामा आइपुगेको दाबी गरेका हुन्।

उनले मुलुकमा कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमतिमा अगाडि बढ्नुपर्ने बताए।  देशको अस्मितानै संकटमा परेको अवस्थामा रहेको भन्दै उनले सबै प्रकारका परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्म समीक्षा गर्नुपर्ने समय अहिले आएको बताए।

शाहले भनेका छन्,‘हाम्रो शत्रु विपन्नता र अस्थिरता हो। तर एउटा नेपालीको अर्को नेपालीलाई बैरी ठान्ने अवान्छित संस्कृतिलाई हामीले बढवा दिऔं। जसका कारण देश अहिले इतिहासकै दर्दनाक अवस्थामा आइपरेको छ।’

कठिन परिस्थितिमा परेको आजको मुलुकमा परस्पर द्वन्द्व र घृणालाई हटाउनपर्ने उनको भनाई छ। ‘प्रजातन्त्रमा राज्य व्यवस्था र प्रक्रिया संवैधानिक मान्यता अनुरुप चल्नु अनिवार्य हो।’ शाहले भने, ‘प्रजातन्त्रमा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन एक स्वभाविक प्रक्रिया भएता पनि यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेट्ने जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समातिन्ने थियो।’

पूर्वराजा शाहले अधिकारमात्र खोज्ने र कर्तव्य नसोच्ने प्रवृति मौलाइरहेको  बताए। साभारः अन्नपूर्ण

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्