दमौली : तनहुँ–१ का नेपाली कांग्रेसका उम्मेदवार गोबिन्द भट्टराईले आफ्नो नेतृत्वमा तनहुँमा भानु व्यास वेद सँस्कृत विश्वविद्यालय बनाउने घोषणा गरेका छन् ।आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्दै भट्टराईले ५५ वटा ठूला काम गर्ने योजना बनाएका छन् ।
‘५ वर्ष ५ पालिका ५५ काम’ नारा लिएर चुनावी मैदानमा उत्रिएका भट्टराईले युवासँग सँगसँगै, गुणस्तरीय शिक्षा, विशिष्ट र सुलभ स्वास्थ्य, धार्मिक रिङरोड, मादी जलाशय, पर्यटन प्रवद्र्धन र विश्वविद्यालयलाई आफ्ना प्रमुख अजेण्डा बनाएका छन् ।
‘सुशासन र स्थिर सरकारका लागि संविधान संशोधनमा पनि काम गर्छु,’ उनले घोषणा पत्रमा लेखेका छन्, ‘तनहुँको माटोलाई कानुन निर्माण बन्ने ठाउँमा सशक्त बनाउनु नै मेरो मुख्य दायित्व हो ।’
‘युवाहरुलाई सँगसँगै लिएर हिँड्नेछु,’ उनले भनेका छन्, ‘तनहुँलाई आइटी हब र डिजिटल तनहुँ बनाउन डिजिटल शिक्षाका विभिन्न प्याकेजहरु आउने छन् ।’
उनको घोषणा पत्र केही दिनअघि दमौलीमा भएको चुनावी सभामा पार्टीका उपसभापति विश्वप्रकाश शर्माले सार्वजनिक गरेका थिए । पछिल्लो समय तनहुँमा चुनावी सरगर्मी बढेको छ । ‘अहिले हाम्रा मागहरु तनहुँमा गोबिन्द भट्टराईले सम्बोधन गर्नुभएको छ,’ तनहुँको अनसन चौतारीमा भेटिएका २३ वर्षका वसन्त थापाले भने, ‘त्यसैले हामीले यसपटक उहाँलाई निर्वाचित गर्ने संकल्प गरेका छौँ ।’











