ऐतिहासिक विरासत जोगाउन  कांग्रेसको जित अपरिहार्यः नेता भट्टराई

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाली कांग्रेसका नेता एवं तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले दमौलीको ऐतिहासिक विरासत, लोकतान्त्रिक पहिचान र आधुनिक विकासको गतिलाई उचाइमा पुर्याउन ‘बदलिएको कांग्रेस’को विजय अनिवार्य रहेको बताए । व्यास नगरपालिका–२ स्थित चुनावी प्रचारप्रसार कार्यालयको मङ्गलबार उद्घाटन गर्दै नेता भट्टराईले कांग्रेस अब नयाँ ऊर्जा, परिष्कृत सोच र जनउत्तरदायी कार्यशैलीका साथ जनताको घरदैलोमा आएको उद्घोष गरे ।

“दमौली केवल एउटा व्यापारिक केन्द्र मात्र होइन, यो नेपाली लोकतान्त्रिक आन्दोलनको एउटा जीवन्त धरोहर पनि हो,” नेता भट्टराईले सम्बोधनका क्रममा भने, “२००७ सालदेखि २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनसम्म दमौलीले नेतृत्वदायी भूमिका खेल्यो। यो गौरवशाली इतिहासलाई थप उजिल्याउन र वर्तमानको विकासलाई भविष्यसँग जोड्न यसपटक कांग्रेसलाई मत दिनुको विकल्प छैन ।” उनले दमौलीको गुरुयोजनादेखि व्यवस्थित सहरीकरण र पूर्वाधार विकासमा कांग्रेसले नै जग बसालेको स्मरण गरे।

अहिलेको कांग्रेस विगतका त्रुटीहरू सच्याउँदै पूर्ण रूपमा सुदृढ र जवाफदेही बनेर आएको दाबी गरे “हामी हिजो जस्तो थियौँ, आज त्यस्तो छैनौँ। हामी बदलिएका छौँ, अब हाम्रो कामले जनताको जीवनस्तर बदल्नेछ। सदरमुकामको सौन्दर्यीकरण, युवा स्वरोजगार र दिगो आर्थिक विकास नै मेरो मुख्य एजेन्डा हो ।” कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वैकुण्ठनाथ मिश्रले मुलुकको वर्तमान राजनीतिक अस्थिरता अन्त्य गर्न र थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन परिपक्व र परिमार्जित कांग्रेसको खाँचो रहेको औँल्याए । उनले व्यवसायी र आम नागरिकको भरोसा कांग्रेसमै रहेको भन्दै भट्टराईको नेतृत्वले तनहुँको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

व्यास–२ का वडा सभापति टुकराज हमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले दमौलीको अस्तित्व जोगाउन र समृद्ध तनहुँ निर्माणका लागि यसपटक कांग्रेसको पक्षमा जनलहर सृजना भइसकेको दाबी गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्