देवघाट : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोविन्द भट्टराईले आफू पद र व्यक्तिगत लाभका लागि नभई जनताको सेवा र गाउँको वास्तविक विकासका लागि राजनीतिमा होमिएको बताएका छन्। फागुन २१ गते हुने निर्वाचनको सिलसिलामा पवित्र तीर्थस्थल देवघाटधाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
भट्टराईले आफू १४ वर्षकै कलिलो उमेरदेखि नै पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा लागेको स्मरण गर्दै आजको ‘जेनजी’ पुस्ता जस्तै जोस र ऊर्जाका साथ देश परिवर्तनको अभियानमा होमिएको बताए । पञ्चायत कालमा आफूलाई धेरै प्रलोभन र अवसरहरू आएको भए तापनि आफ्नो स्वाभिमान र प्रजातान्त्रिक आदर्शलाई कहिल्यै धोका नदिएको उनले उल्लेख गरे । महामानव बीपी कोइरालाको ’गाउँ नबनी देश बन्दैन’ भन्ने आदर्शलाई आत्मसाथ गर्दै गाउँको गरिबी हटाउन र विकासको पहुँच हरेक नागरिकको घरदैलोमा पुर्याउन नै आफ्नो राजनीतिक जीवन समर्पित भएको उनको भनाइ थियो ।
पूर्वाधार विकासका सन्दर्भमा भट्टराईले देवघाटमा वषौं देखिको माग रहेको गाइघाट, साराङघाट र घुमाउने गरी तीनै ठाउँमा पुल निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै देवघाट धाम जोड्ने जोड्ने पुरानो झोलुङे पुल भएको स्थानमा मोटर पुल बनाउन आफूले उच्च प्राथमिकतामा राखेको बताए । पवित्र कालीगण्डकी र त्रिशूलीको संगमस्थल देवघाटको धार्मिक एवं सांस्कृतिक गरिमालाई उजागर गर्दै उनले देवघाट धाम, छिम्केश्वरी र वेदव्यास गुफा जस्ता पवित्र स्थलहरूको प्रवद्र्धन गरी यस क्षेत्रलाई विश्वस्तरको धार्मिक पर्यटकीय गन्तव्य बनाउने संकल्प व्यक्त गरे ।
हिन्दू धर्म र संस्कृतिको जगेर्ना गर्दै धार्मिक पर्यटनमार्फत स्थानीयको जीवनस्तर सुधार्ने योजना उनले अघि सारे ।विगतको निर्वाचनमा पराजित भए पनि आफू कहिल्यै जनताबाट टाढा नभएको उल्लेख गर्दै भट्टराईले चुनाव हारेर पनि विकासका योजना र निवेदन बोकेर निरन्तर मन्त्रालय र सरकारी निकाय धाउने काम गरिरहेको बताए। “म साइनो छैन भनेर हिँड्ने र जिम्मेवारीबाट पन्छिने मान्छे होइन, म त तपाईहरूको सुख–दुःखको साथी हुँ ’’ भन्दै उनले फागुन २१ गते हुने निर्वाचनमा आफूलाई विजयी गराउन मतदाताहरूसँग अपिल गरे । कार्यक्रममा नेपाली काँगेसककी केन्द्रीय सदस्य चिनु पोख्रेल, नेपाली काँग्रेस तनहुँका सभापति जीतप्रकाश आले, क्षेत्र नम्बर १ का सभापति श्याम मौरती लगायतको उपस्थिती रहेको थियो ।











