दमौली : प्रेस युनियन तनहुँका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ तनहुँका पूर्व सल्लाहकार, अग्रज पत्रकार शेष मोहम्मद हनिफ (गोरा) मियाँको दुःखद निधन भएको छ।
मंगलबार दिउँसो आफ्नै निवासमा अचेत अवस्थामा ढलेका मियाँलाई तत्काल रत्नहरि अस्पतालमा प्राथमिक उपचार पश्चात् मणिपाल शिक्षण अस्पताल, पोखरा लगिएको थियो। उपचारका क्रममा स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएपछि बुधबार दिउँसो घर ल्याइएकोमा साँझ आफ्नै निवासमा उनको निधन भएको हो।
स्व. मियाँ लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै प्रेस स्वतन्त्रता, पेशागत हकहित तथा सामाजिक उत्तरदायित्वका पक्षमा दृढतापूर्वक आवाज उठाउँदै आएका थिए। उनको निधनले तनहुँको पत्रकारिता क्षेत्रले एक जुझारु, निडर र समर्पित नेतृत्व गुमाएको छ, जुन क्षति अपूरणीय छ।
स्वर्गीय मियाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।











