दमौली : नेपाल सरकारका पूर्व सांसद रणेन्द्र बराली द्वारा ४ लाख भन्दा बढीको अक्षयकोष स्थापना गरिएको छ। रिसिङ २ काहुँशिवपुरमा रहेको सहिद गंगा माध्यमिक विद्यालयको ९९औं वार्षिक सभाको अवसरमा उक्त अक्षयकोषको स्थापना गरिएको हो।
आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पुर्याउने उद्देश्य साथ साविक काहुँशिवपुर र हाल चितवन घर भएका बरालीले आफ्नो स्वर्गीय बुबा झिमलाल बराली र स्वर्गीय आमा अमृता बरालीको नाममा २ लाख अक्षयकोष स्थापनाको लागि रकम दिएका हुन् । त्यस्तै स्वर्गीय बुद्धी श्रेष्ठ र स्वार्गीय पुर्णमान श्रेष्ठको सम्झनामा जेठो छोरा टंकनारायण श्रेष्ठले पनि २ लाख २ हजार रुपैयाँ प्रधानाध्यापक एवम् संचालक समितिका अध्यक्ष दलबहादुर थापालाई हस्तान्तरण गर्दै कोष सञ्चालनमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।
पुर्व विद्यार्थी एवं समाजसेवी सफल व्यवसायी डम्बर बरालीले पनि ४० हजार बराबरको स्कुललाई २० थान कुर्ची सहयोग गरेका छन्। त्यस्तै अर्का पुर्व विद्यार्थी एवं सफल व्यवसायी नरजुन बरालीले पनि बराली परीवारको तर्फबाट दलित तथा असहायका २जना छात्र-छात्रालाई १०हजार ५ सयका दरले २१ हजार सहयोग गरेका थिए। रिसिङ गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विशिष्ट अतिथि अक्षयकोष दाता रणेन्द्र बराली थिए। नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य रामहरि श्रेष्ठ, समाजसेवी युवा व्यवसायी कृष्ण सुनार लगायतको सहभागीता रहेको थियो।
पुर्व सांसद तथा समाजसेवी बरालीले आफुले स्कुलमा अध्ययन गरेको स्मरण गर्दै “उनले भने यति सम्मानका साथ स्थापना गरेको अक्षयकोषको समुचित ढंगबाट सदुपयोग हुने अपेक्षा गरेको छु ।यो स्कूललाई स्थानीय तह देखि नै सवैले सहयोग गर्नु पर्छ।” ऐतिहासिक चर्चा गर्दै आगामी दिनमा यस स्कुललाई अझ उचाइमा पुर्याउन सम्पूर्ण समाजसेवी, जनप्रतिनिधि, शिक्षक, अभिभावक र सञ्चालक समितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका थिए।
प्रधानाध्यापक एवम् संचालक समितिका अध्यक्ष दलबहादुर थापाले उपभोक्तावादी, कमाउने र देखाउने होडबाजी चलिरहेका बेलामा समाजसेवाका लागि यति ठूलो रकम सहित सहयोग प्रदान गरेकामा आभार प्रकट गरेका थिए।











