दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीमा आज बिहान भएको स्कुटर दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १२ प ४७६९ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटना बिहान करिब ८:३५ बजे भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका–३ पसले बस्ने २७ वर्षीय पुरन राना मगर गम्भीर घाइते भएका छन्। उनको नाकबाट रगत बगेको, घाँटी, छाती तथा खुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ।
त्यसैगरी स्कुटरको पछाडि सवार चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने २७ वर्षीया सुमित्रा थापा मगरको टाउकोमा गम्भीर चोट लागेको थियो। अस्पतालमा उपचारका क्रममा बिहान ८:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पृथ्वीराजमार्गमा पछिल्लो समय सवारी दुर्घटनाका घटना बढ्दै गएकाले सवारी चालकलाई सतर्कता अपनाउन प्रहरीको आग्रह छ।











