दमौली: नेपाल आदिवासी जनजाति महासंघ तनहुँले ‘भाषा, लिपि, धर्म, संस्कृति र सभ्यताको जगेर्ना तथा हस्तान्तरणमा एक्यबद्धता, खुला जीवन्त सांस्कृतिक संग्रहालय निर्माण र पर्यटन विकासमा प्रतिबद्धता’ भन्ने नाराका साथ छैठौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव–२०८२ गर्ने भएको छ ।
यही पुस २४ गते देखि माघ ५ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र गतिमा अगाडि बढाएको छ । महोत्सव भव्य बनाउने उद्देश्यले दमौलीका विभिन्न स्थानमा स्वागत गेट, परम्परागत जातीय घर, स्टल निर्माणको कार्य भइरहेको महोत्सव मुल समारोह समिति संयोजक सनम तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार दमौली बजार प्रवेश गरिने मुख्य बाटोमा
प्रवेशद्वार निर्माण गरिएको छ ।
व्यास नगरपालिका–३ स्थित अनसन चौतारीको खुला मैदानमा सञ्चालन हुने महोत्सवमा आइफिल
टावर, लण्डन ब्रिजको आभास गर्न पाउने तामाङले बताउनुभयो । “यी मुख्य आकर्षणको संरचना भए पनि मौलिक संस्कार, संस्कृति संरक्षण प्राथमिकता हो”, उहाँले भन्नुभयो, “मुनाफाले जीवन्त सांस्कृतिक संग्राहलय निर्माण भएकोले आम्दानी बढाउने विषय प्राथमिकतामा छन् ।” आइफिल टावर, लण्डन ब्रिजलगायतका संरचनाले दर्शकलाई आकर्षित गर्ने महासंघका सचिव जीवन गुरुङ ‘कुमार’ले बताउनु भयो । उहाँका अनुसार विद्यालयस्तरीय नृत्य प्रतियोगिता, मौलिक सांस्कृतिक झाँकी तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।
महोत्सव अवधिभर करिब तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । परिषद्का कोषाध्यक्ष ठाकुुर दरैका अनुसार महोत्सवबाट करिब रु.७३ लाख आम्दानी हुनेछ भने रु.५८ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवबाट रु.१५ लाख बचत गर्ने लक्ष्य लिइएको
कोषाध्यक्ष दरैले बताउनुभयो । जिल्लाभरका जातीय कला, संस्कृति र पहिचान झल्कने जीवन्त सांस्कृतिक संग्रहालय निर्माण गरिने परिषद्का वरिष्ठ उपाध्यक्ष सिद्धान्त थापाले बताउनु भयो ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारको प्रस्तुति रहनेछ । कला, संस्कृति, भाषा, धर्म र सभ्यताको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आदिवासी जनजाति महासंघ तनहुँका पूर्व अध्यक्ष हरिसिंह गुरुङले बताउनुभयो । महासंघका उपाध्ययक्ष शेर बहादुर बोटेले महोत्सवमा १५० वटा स्टल रहने बताउनुभयो । यस पटक महोत्सवमा मगर, दरै र कुमालको परम्परागत घर निर्माण गरिने छ ।












