छैठौं बन्दीपुर महोत्सव हुँदै

दमौली न्युज
  • ख-
  • ख+

बन्दीपुर :  बन्दीपुरमा यहि मंसिर १० गतेदेखि २१ गते सम्म छैठौं बन्दीपुर महोत्सव २०८२ आयोजना हुने भएको छ। तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाई समितिको आयोजनामा टुँडिखेलमा महोत्सव सञ्चालन हुने आयोजित पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी गरिएको हो।

पत्रकार सम्मेलनमा तनहुँ उद्योग वाणिज्य संघ, बन्दीपुर बजार इकाइका अध्यक्ष घनश्याम उपाध्यायले महोत्सवले बन्दीपुरको पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजार विस्तार र सांस्कृतिक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाका अनुसार महोत्सवले बन्दीपुरले बोकेको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदालाई दीर्घकालीन रूपमा प्रवर्द्धन गर्न थप गति दिनेछ। महोत्सवले स्थानीय उद्यमशीलता, पर्यटन व्यवसाय, कृषि तथा हस्तकलालाई एकसाथ जोडेर बन्दीपुरलाई अझ आकर्षक गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

छैठौं बन्दीपुर महोत्सव होटेल संघ बन्दीपुर बजार इकाइ, बन्दीपुर भ्रमण वर्ष अभियान, रेवान र विभिन्न स्थानीय सामाजिक संस्थाहरूको सक्रिय सहभागितामा आयोजना हुँदैछ। महोत्सवका मुख्य
आकर्षणहरू सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र हस्तकला प्रदर्शनी, परम्परागत खानाका परिकार, खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमहरू हुने छन्। विशेष गरी चीन, फ्रान्स र जर्मनीका विदेशी पर्यटक ठूलो संख्यामा आउने गरेका छन्।

यहाँका परम्परागत नेवारी शैलीका पुराना घर, सांस्कृतिक रीतिरिवाज र शान्त वातावरणले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। बन्दीपुर पुग्नको लागि सदरमुकाम दमौलीदेखि १८ किलोमिटर तथा डुम्रेबाट ८ किलोमिटरको यात्रा गर्नुपर्छ। यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरिजस्ता हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्