अरिङ्गालको टोकाइबाट गोरखामा ४८ वर्षीय पुरुषको मृत्यु

दमौली न्युज
  • ख-
  • ख
  • ख+

गोरखा : अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका मकवानपुरका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ पुवाले घर भई हाल गोरखाको शहीद लखन गाउँपालिका–६ घैरुङमा सडक निर्माणसम्बन्धी काम गर्दै आएका ४८ वर्षीय कुमार प्रजाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गत असोज १५ गते राति करिब साढे १० बजे स्थानीय बासकोट जंगलमा अरिङ्गाल पोल्ने क्रममा उनलाई करिब २६–२७ वटा अरिङ्गालले टोकेको थियो। टोकाइबाट गम्भीर घाइते भएका प्रजालाई असोज १६ गते बिहान २ः४० बजे उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको थियो।

गोरखा अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि सोही दिन अपराह्न ५ बजे भरतपुर सरकारी अस्पताल, चितवन लगिएको थियो। उपचारकै क्रममा असोज १६ गते राति १०ः३८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।प्रहरीका अनुसार अरिङ्गालको टोकाइबाट गम्भीर अवस्था भएपछि उनलाई थप उपचारका लागि चितवन लगिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्