राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सत्यवती मा. वि. प्रथम

दमौली न्युज
  • ख-
  • ख+

दमौली : व्यास नगरपालिकाद्वारा आयोजना गरिएको सातौँ वार्षिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा व्यास–२, दमौली स्थित सत्यवती माध्यमिक विद्यालय प्रथम भएको छ। सत्यवतीले ७ स्वर्ण, ६ रजत र ३ कास्य सहित १६ पदक प्राप्त गर्दै प्रतियोगितामा अग्रस्थानको उपाधि हात पार्न सफल भएको हो ।

शिक्षा क्षेत्रका साथै खेल क्षेत्रमा समेत सत्यवती मावि अब्बल बन्दै गएका कारण विद्यालयको महिमा अझै उच्च बनाएको छ । त्यस्तै व्यास–१, भादगाउँस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयले ६ स्वर्ण र ३ रजत जित्दै द्वितीय हुन सफल भयो। त्यस्तै व्यास–६, शिसाघाट स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयले ५ स्वर्ण, ५ रजत र ५ कास्य जितेर तेस्रो स्थान भएको छ ।

बाराही आवासीय माध्यमिक विद्यालयले १० पदकसहित चौथो स्थानमा सीमित रह्यो। प्रतियोगितामा नगर क्षेत्रका २१ विद्यालय सहभागी थिए। आयोजकका अनुसार ३० स्वर्ण, ३१ रजत र २५ कास्य गरी कुल ८६ पदक वितरण गरिएको थियो। विजयी विद्यालय तथा विद्यार्थीहरूलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरेका थिए।

विद्यार्थीहरूको निरन्तर मेहनत, विद्यालयको अनुशासन र प्रशिक्षकहरूको समर्पणका कारण सत्यवती आज यो स्थानमा भएको विद्यालयका प्रधानाध्यापक ईन्द्रप्रसाद पौडेलले बताए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्