आँबुखैरेनी: तनहुँ जिल्लाको आँबुखैरेनी हाटबजारस्थित पवित्र स्थलमा शनिबारदेखि सुरु भएको छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको दोस्रो दिन आइतबार ३० लाख रुपैयाँ आर्थिक दान संकलन भएको छ।
महायज्ञका संयोजक कृष्णमान तामाङका अनुसार, यो महायज्ञ छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन विकासका लागि आयोजना गरिएको हो। महाभारत पर्वत श्रृङ्खलाको २१३४ मिटर उचाइमा अवस्थित मन्दिर क्षेत्रको समग्र विकासका लागि करिब १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ भने करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
कात्तिक १५ गतेसम्म सञ्चालन हुने महायज्ञमा वाचन प्रविण पण्डित श्री दिनबन्धु पोखरेलले श्रीमद्भागवत वाचन गर्दै ज्ञानगङ्गा प्रवाह गरिरहेका छन्। महायज्ञ अवधिभर पितृ उद्धार, वैदिक कर्म, धान्याञ्चल, तुलादान, विवाह–ब्रतबन्ध, ग्रहशान्ति पूजन लगायतका धार्मिक कार्यहरू सम्पन्न हुनेछन्।
त्यस्तै तामा, पित्तल, ढोलक, अन्न, खाद्यान्न तथा अन्य धार्मिक सामग्रीको दान पनि स्वीकार गरिनेछ। आयोजकहरुले यस महायज्ञले छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।

















