आदित्य राना पौडेलको सम्झनामा अक्षय कोष स्थापना

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः आदित्य राना पौडेल स्मृति छात्रवृत्ति अक्षय कोष’ स्थापना गरिएको छ ।
व्यास नगरपालिका–५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालय र पाटन जेष्ठ नागरिक गुरुकुल आश्रममा संयुक्त रूपमा ५ लाख ५ हजार १ सय ६४ रुपौयाको को छात्रवृत्ति अक्षय कोष’ स्थापना गरिएको हो ।

अल्प आयुमा सडक दुर्घटनामा परी निधन भएका आदित्य रानाको स्मृतिमा उनका हजुरबुबा हेम पौडेल, हजुरआमा उषा क्षेत्री, बुबा इन्द्र राना, आमा विद्या पौडेल र सानिआमा बिजु पौडेलको तर्फबाट उक्त कोष स्थापना गरिएको थियो । अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले आदित्यको स्मृतिमा अक्षयकोष स्थापनाले उनको सम्झना र सम्मानलाई चिर स्थायी बनाउने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापाले विद्यालयका एक होनाहार विद्यार्थी आदित्य रहेको चर्चा गर्दै शोकलाई शक्तिमा परिवर्तन गरेर उनको स्मृतिमा अक्षयकोष स्थापना गर्नु उदाहरणीय कार्य रहेको बताए । त्यस अवसरमा विद्यालयलाई ४ लाख ४ हजार ८४ र गुरुकुल आश्रमलाई १ लाख १ हजार ८२ को चेक परिवारको तर्फबाट अक्षय कोष स्थापनाकर्ता विद्यालयका संस्थापक प्रधानाध्यापक समेत रहेका हेम पौडेलले विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापालाई संयुक्त रूपमा हस्तान्तान गरेका थिए ।

कोषबाट प्राप्त ब्याज मार्फत प्रत्येक वर्ष ‘आदित्य राना स्मृति कप’ नामक अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गरिने छ भने कक्षा १० का प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने विद्यालयले जनाएको छ । यस्तै, यस अक्षयकोष स्थापनाबाट गुरुकुल आश्रममा अध्ययनरत विद्यार्थीहरू समेत लाभान्वित हुने भएका छन्। । कार्यक्रम आदित्य रानाको ४५ औँ तिथिमा गरिएको हो ।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक अभिभावक संघ, टोल विकास संस्था, सामुदायिक वन, मगर समाज, पूर्व विद्यार्थी मञ्चका सदस्य तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक अनिता काफ्लेले गरेकी थिइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्