
दमौली: बालयौन दुरुपयोग मुद्दामा फरार रहेका एक युवकलाई १७ महिना पछि तनहुँ प्रहरीले पक्राउ गरेको छ। भानु नगरपालिका–२ का ३२ वर्षीय पदमबहादुर काप्रीलाई प्रहरीले मंगलबार राति व्यास नगरपालिका–१ विज्ञानचौरबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत तनहुँले २०८१ चैत ४ गते काप्रीलाई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै कैद सजाय तोकेको थियो । तर तोकिएको सजायमध्ये अझै ५ महिना ८ दिन कैद भुक्तान गर्न बाँकी रहँदै उनी फरार रहेका थिए । लामो समय देखि खोजी हुँदै आएका काप्रीलाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका काप्रीलाई बुधबार जिल्ला अदालत तनहुँमा पेश गरिएको र अदालतको आदेशअनुसार बाँकी कैद सजाय भुक्तानका लागि कारागार कार्यालय तनहुँ चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष बिकले जानकारी दिए ।