
काठमाडौं : सुनको कारोबारमा व्यापारीले व्यापारिक प्रयोजनमा बिक्री गर्ने सुनमा लक्जरी कर नलाग्ने भएको छ। हालै मन्त्रिपरिषद्ले बजेटले गरेको व्यवस्थालाई स्पष्ट गर्दै ग्राहकलाई बेच्न व्यापारीले किन्ने सुनमा लक्जरी कर नलाग्ने व्यवस्था गरेको हो। अहिले सुनमा २ प्रतिशत लक्जरी कर लाग्ने गरेको छ।
तर बजेटको व्यवस्थाले स्पष्ट नगरेको कारण आयात गर्ने बैंकले व्यापारिक संगठनलाई बिक्री गर्ने क्रममा २ प्रतिशत र त्यस्ता संस्थाले खुद्रा पसललाई बिक्री गर्दा २ प्रतिशत लक्जरी कर लिँदै आएको थियो। यसरी पटक–पटक थपिँदा पुगेको मूल्यको आधारमा उपभोक्तालाई बिक्री गर्दा पुनः २ प्रतिशत लक्जरी कर लिइँदै आएको थियो।
‘यसअघि १० लाख रुपैयाँभन्दा बढीको सुन खरिद गर्दा २ प्रतिशत लक्जरी कर लाग्ने व्यवस्था थियो, अहिले जतिसुकैको खरिद गरे पनि लाग्ने व्यवस्था गरिएको हो,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘तर, बैंकले व्यापारीलाई दिने क्रममा र होलसेलरले खुद्रा पसललाई बिक्री गर्ने क्रममा पनि लक्जरी कर लाग्ने दुविधा देखिएकोले स्पष्ट गरिएको हो।’
उनले अन्तिम खरिदमा उपभोक्ताले २ प्रतिशत लक्जरी कर भने तिर्नुपर्ने बताए। ‘बिटुबी (व्यापारीले व्यापारीलाई) मा लाग्दैन, तर बिटुसी (व्यापारीले उपभोक्तालाई बिक्री गर्दा) भने लाग्ने छ,’ ती अधिकारीले भने। नेपालमा सुनको वैधानिक आयात वाणिज्य बैंकहरुले गर्दै आएका छन्। साभारः सेतोपाटी संवाददाता