
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको प्रशिक्षणलाई सङ्ख्यात्मक मात्र नभई गुणस्तरीय बनाउन निर्देशन दिएकी छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिषद् बैठकलाई आज सम्बोधन गर्दै मन्त्री न्यौपानेले प्रशिक्षणलाई प्रविधिमैत्री र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएकी हुन् ।
प्रशिक्षणमा सेल्फ लर्निङ, इलर्निङ र एआइलाई जोड दिनुपर्ने उनले बताइन्। निजामती कर्मचारीलाई प्रशिक्षणसँगै स्थलगत रूपमा अध्ययन गर्ने वातावरण बनाउनुपर्ने मन्त्री न्यौपानेले बताइन् ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, लोक सेवा आयोगका उपाध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, नेपाल सरकारका मुख्यसचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिवलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
उक्त बैठकमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पञ्चवर्षीय रणनीतिक योजना (२०७९/८०-२०८३/८४) को तेस्रो वार्षिक प्रगति समीक्षा, प्रतिष्ठानको आव २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा प्रतिष्ठानको आव २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको थियो ।