
दमौली : तनहुँको व्यास नगरपालिका -१२, कमलबारी स्थित पृथ्वी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१३, अबुवा देउरालीका २२ वर्षीय आसिक बाबु नराल रहेकाे प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
आज दिउँसो करिब १ः४५ बजेको समयमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ग २५ प ४१३ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिंदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक नरालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। निधारमा गहिरो चोट, पेटमा गम्भीर चोट र बायाँ घुँडामा काटिएको अवस्थामा दमौली स्थित प्रदेश अस्पताल ल्याइएको उनलाई उपचारकै क्रममा मृत्यु भएको थियो।
स्कुटरको पछाडि सवार रहेका मृतकका बुबा ४७ वर्षीय कृष्ण प्रसाद नराल भने मध्यम घाइते भएका छन्। बायाँ घुँडामा चोट लागेका उनलाई बोल्न सक्ने अवस्था रहेकाले तत्कालै उपचारका लागि अस्पताल भर्ना गरिएको छ। दुर्घटना पछि स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।