
सिड्नीः नेपाली समुदायलाई विश्वभर संयोजन गर्ने उद्देश्यले गठित गैर–आवासीय नेपाली संघले तनहुँका प्रताप सम्शेर राणा ओसिनिया क्षेत्रीय डेपुटी संयोजक निर्विरोध निर्वाचित भएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले उनलाई नयाँ जिम्मेवारी प्रदान गरेको हो ।
ओसेनिया क्षेत्रमा नेपाली समुदायको सक्रियता वृद्धि गर्न राणालाई जिम्मेवारी प्रदान गरिएको संघका एक पदाधिकारीले बताए । उनले नेपाली समुदायको सक्रियताका क्षेत्रमा खेलेको भूमिकाका आधारमा सर्वसम्मत जिम्मेवारी प्राप्त गरेको बताइन्छ ।
जिम्मेवारी प्राप्त गरेका राणाले ओसिनियामा बसोबास गर्ने नेपालीहरूको एकतालाई अझ मजबूत पार्दै डायस्पोराका नेपालीहरूको शैक्षिक, आर्थिक र सांस्कृतिक अधिकारको प्रवद्र्धन र नेपालसँगको सम्बन्ध प्रगाढ पार्न योगदान दिने बताए ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले एक कार्यक्रममा राणालाई सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना समेत दिइन् । क्यापेला क्लिनिङ कम्पनीका सञ्चालक राणाले झण्डै एक हजारलाई रोजगारी दिइरहेका छन् ।
उनी आफ्नै लगानीको क्यापेला क्रिकेट क्लबामार्फत नेपालीलाई अष्ट्रेलियन खेल क्षेत्रसँग जोड्न समेत सक्रिय छन् ।