गैर दलितको सहयोग बिना छुवाछुतको अन्त्य गर्न सकिदैनः सांसद परियार

दमौली न्युज
  • ख-
  • ख+

देव गजमेर
दमौली :
राष्ट्रिय सभा सदस्य पदम परियारले गैर दलितको सहयोग बिना छुवाछुत र भेदभाव अन्त्य गर्न नसकिने बताएका छन् ।


‘दलीत एकता आजको आवश्यकता, विभेद रहित समाज निर्माणको लागि सम्पूर्ण नेपालीको सहभागिता’ भन्ने मुल नाराका साथ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०८२ को उपलक्ष्यमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिद्धारा बुधबार दमौलीमा आयोजित कार्यक्रममा सो कुरा बताएका छन् । दलित र गैर दलितबीच छुवाछुत र भेदभावको बिरुद्धमा एकता हुन नसक्दा व्यवहारिक रुपमा विभेद अन्त्य हुन नसकेको बताए ।

सांसद परियारले कागजमा, संविधान, कानुनमा छुवाछुत उल्मूलन भएको घोषणा गरिरहँदा अहिले पनि नेपालका कयौं गाउँमा समाजमा विद्यमान विभेदकारी पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतना लगायतले गर्दा दलित समुदायले अपमानित भएर बाच्नु परेको, आत्महत्या गर्नुपर्ने, पढाइ छाड्नु पर्ने, थाकथलो छोड्नु पर्ने जस्ता बाध्यता यथावत भएकोले सचेतना आवश्यक रहेको बताए । सचेतनाको लागि दलित बस्तीमा गएर मात्रै सम्भव नहुने र त्यसको लागि गैर दलित बस्तीमा पु¥याउनु पर्ने उनको भनाई थियो ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाउन गैर दलितको न्यून सहभागिता रहेको उल्लेख गर्दै परियारले दलित र गैरदलित बराबर हुनुपर्ने बताए । सांसद परियारले भने, यो दिवस दलित र गैर दलित बराबर सङ्ख्या भएर मनाउने हो छुवाछुत बिरुद्धतको सचेतना अभियान दुवै मिलेर गर्नु जरुरी छ ।’ कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, भानु नगरपालिकाको उपप्रमुख उमा गोतामे, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बिक राजु, नेपाल सूनचाँदी व्यवसायी महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष मोहन कुमार बिक, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष विश्व बास्तोला, नेपाल दलित संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा नेका जिल्ला सदस्य केशबहादुर सुनार, एमाले तनहुँका सचिव प्रदीप अधिकारी, माओवादी केन्द्रका नेता सूर्यबहादुर गौली, गोपाल सूर्खाली, दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश कमिटिका सदस्य दिलबहादुर नेपाली, जिल्ला समन्वय समितिका सदस्य डोलबहादुर सुनार, नेपाल कम्युनिष्ट पार्टी, केन्द्रिय प्रतिनिधि सदस्य नविन वि.क. लगायतले कानुनी रुपमा छुवाछुत गर्न नपाईने भए पनि व्यवहारमा अझै नभएकोले दलित र गैर दलित सबै जाति एक जुट भई सचेतना कार्यक्रम व्यापक पारिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रम सयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक तथा गण्डकी प्रदेशका पूर्वमन्त्री डोबाटे बिश्वकर्माको अध्यक्षतामा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्