
दमौली : गण्डकी प्रदेश सरकारले लागू गरेको ‘राइड सेयरिङ र सेल्फ ड्राइभ’ सम्बन्धी नियमावलीप्रति असन्तुष्टि जनाउँदै यातायात व्यवसायीहरूद्वारा सुरु गरिएको सार्वजनिक यातायात बन्द र आन्दोलनका कारण सर्वसाधारण यात्रु तथा विद्यार्थीहरू मारमा परेका छन्।
यसले जनजीवनमा गम्भीर असर पारिरहेको भन्दै नेपाल विद्यार्थी संघ तनहुँ र नेपाल तरुण दल व्यास नगर समितिले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन्।
ध्यानाकर्षण पत्रमा आन्दोलनको असर विशेष गरी दैनिक विद्यालय र क्याम्पस जाने विद्यार्थीहरू तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने सर्वसाधारणमाथि परेको उल्लेख गर्दै, समस्याको समाधान संवादका माध्यमबाट खोज्न आग्रह गरिएको छ।
संघ र दलका प्रतिनिधिहरूले सरकार र आन्दोलनरत व्यवसायी पक्षबीच तत्काल सहमति निर्माणका लागि पहल गर्न प्रशासनसँग माग गरेका छन्। उनीहरूले यातायात अवरुद्धजस्ता गतिविधि आम नागरिकको मौलिक हकमा प्रत्यक्ष हस्तक्षेप हुने भन्दै लोकतान्त्रिक पद्धतिभित्र रहेर वार्ताबाट समस्या समाधान गर्न जोड दिएका छन्।
ध्यानाकर्षण बुझाउने टोली अन्तर्गत नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष आशिष कैनी , तरुण दल नगर अध्यक्ष युवराज भण्डारी लगायत अन्य नेवीसं विद्यार्थी तथा तरुण नेताहरूको उपस्थिति रहेको थियो।