
सुशील बिक
दमौली: तनहुँको दमौली स्थित बुल्दीखोलाबाट ८ हजार भन्दा बढी फोहर सङ्कलन भएको छ । सामाजिक अभियान्ता महम्मद गफ्फार (सुदिप)को नेतृत्वमा शनिबार भएको वृहत बुल्दी खोला सरसफाई अभियानबाट आठ हजार एक सय ६८ किलोग्राम फोहर सङ्कलन भएको थियो ।
बुल्दी खोलालाई स्वच्छ र सफा राख्दै भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्धेश्य सहित व्यास नगरपालिका-१ करङकाठबाट व्यास नगरपालिका-२ स्थित आदिकवि भानुभक्त क्याम्पस जाने कल्भर्ट ( घट्टा)सम्म भएको सरसफाइ अभियानबाट उक्त मात्रामा फोहर सङ्कलन भएको छ । सरसफाईका क्रममा व्यास नगरपालिका-२ स्थित बाल मन्दिर माध्यमिक विद्यालय प्रथम भएको छ । बाल मन्दिरका विद्यार्थीहरुले १२१५.८२ किलोग्राम फोहर सङ्कलन गरेका थिए ।
उक्त फोहोर संकलनबाट प्रथम भएको बाल मन्दिर मा.विलाई १० हजार र द्वितीय भएको लर्ड बुद्धलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । सरसफाइ अभियानमा १७ टिमको सहभागिता थियो ।सरसफाइ अभियानका क्रममा नेपाली सेना, नेपाल प्रहरी, विभिन्न टोल विकास संस्था, विद्यार्थी, खेलाडी, विभिन्न क्लवको सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यास नगरपालिकालाई फोहरमैला व्यवस्थापन गर्नको लागि यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै नगरपालिकाले घरबाटै फोहरको वर्गीकरण गरी फोहर सङ्कलन गर्ने कार्य गरिरहेको र फोहरलाई मोहरमा परिवर्तन गरेको नगर प्रमुख न्यौपानेको भनाइ थियो । बुल्दीखोला वृहत सरसफाइ अभियानले आम मानिस जनचेतना वृद्धि गर्न सहयोग पुग्ने न्यौपानेले बताए ।
सरसफाइ अभियानलाई मनोरञ्जनात्मक बनाउन पुरस्कारको व्यवस्था गरिएता पनि अभियानको मुख्य उद्धेश्य भनेको समुदायमा जनचेतना फैलाउने र खोला जोगाउने नै भएको गफ्कारले बताए। साथै खोलाका आसपास फोहोर नफ्याल्न समेत आग्रह गरेका छन् । मुख्यतय खोलामा सरसफाई गर्ने क्रममा घर्यासी प्रयोजनबाट निक्लिने फोहोर संकलन भएको गफ्फारले जनाए।