
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा सातै प्रदेशमा वृहत कार्यशाला गोष्ठीको आयोजना हुँदै छ ।
पूर्व निर्धारित बार्षिक कायृक्रम अनुरुप तीनैवटा महासंघहरुले सुनचाँदी कारोबार एवं नीति-निर्देशिका लगायत समसामयिक बिषयक कार्यशाला गोष्ठिको आयोजना गरेका हुन् ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले सुनचाँदी ब्यवसायीहरुको हक हितको संरक्षण र सम्वद्र्धनका लागि सुनचाँदी क्षेत्रका तीनैवटा संस्थाको संयुक्त आयोजनामा देशब्यापीरुपमा एकै दिन सातै प्रदेशमा फरक फरक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
बैशाख २७ गते शनिबार हुने सो कार्यक्रममा तीनवटै महासंघमा आवद्ध देशका ७७ वटै जिल्ला-नगरका प्रतिनिधी एवं वस्तुगत र एशोसिएट्स सदस्यहरु सहभागी हुने नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किशन सुनारले बताउनुभयो ।
कार्यशाला गोष्ठीको अवसरमा महासंघहरुले ब्यवसायी एवं कालिगढ तथा उद्यमीहरुको हकहितका लागि हालसम्म गरेका कार्य तथा तीनको समिक्षा एवं आगामी दिनमा चाल्नु पर्ने कदम लगायतका बिषयमा छलफल गरी सुझाव संकलन गरिने महासंघहरुले जनाएका छन् । देशै भरवाट संकलन हुने सुझावलाई समेटेर राष्ट्रिय कार्यशालामा पेशगरी त्यसैका आधारमा अगाडि बढ्ने योजना महासंघहरुको छ ।