
गोरखा : गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्। चट्याङ लागेर शहीद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आइतबार साँझ अन्दाजी ७ः५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए। घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेको हो। मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ।
यस्तै आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमाया आले, १८ वर्षीय विपना आले घाइते भएका छन्।घाइते दुवै जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।